भारतबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको छ। नेपाल–भारत सीमानाका बैतडी, झुलाघाटबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चार जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो।
कोरोना देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ।
उनले भने, 'सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेको पनि कोरोना परीक्षण गर्ने गरेका छौं। पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ।'
भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोनाको जोखिम उच्च छ।
झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टिजेन परीक्षण गर्दा अधिकांशमा कोरोना पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। साउन पहिलो सातासम्म कोरोनाका सक्रिय संक्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना छन्।
संक्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार विपद व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको छ।
जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरूद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने लगायत निर्णय गरिएका छन्।
बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैतडीमा हालसम्म तीन हजार तीन सय ७४ जनामा कोरोना पुष्टि हुँदा १९ जनाको ज्यान गइसकेको छ।