राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८३ औं हप्तामा तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ।
सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण विभाग टेकु, बागमती फोहर उन्मूलन उपभोक्ता संस्था, लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीलगायतको सक्रियता थियो।
सो अवसरमा अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष तिमल्सिनाले छ वटा संस्थालाई ५०० लिटर क्षमताका फोहरबाट मल बनाउने बिन वितरण गरेका थिए।
सहयोगी नगर क्रियापुत्री भवन तीनकुने, महानगरपालिका–३१ क्रियापुत्री भवन, पचली भैरव मन्दिर परिसर, जेष्ठ नागरिक समाज शंखमूल, कीर्तिपुर ज्येष्ठ नागरिक भवन र ललितपुर महानगरपालिका-४ नख्खु मन्दिर परिसरका लागि बिन वितरण गरिएको थियो।
अबदेखि यी स्थानबाट निस्केका फोहरबाट मल बनाई उपयोग गर्न मिल्ने कार्यक्रममा जानकारी गराइएको थियो।
विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरू भएको हो। त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ।