नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेका हुन्।
नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटेर नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने बताएका थिए।
नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरूले बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। सो अवसरमा उनीहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो समेत राखेका थिए।
अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरूले देखाएको सामूहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए।
विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायको संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने उनले विश्वास व्यक्त गरेका थिए।
‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन लागि परेको छ,’ सचिवालयले भनेको छ।