विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो।
उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहोरको डङ्गुर थियो। उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।
सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहोर व्यवस्थापनको काम सकिएको छ।
काठमाडौं महानगरपालिका वातारण विभाग प्रमुख सरिता राईले भनिन्, ‘आगमी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापनको काम हुन्छ।’
गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहोरको व्यवस्थापन हुन सकेको थिएन।
स्थानीयवासीको अवरोधकै बीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहोरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहोरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ।
यसअघिको फोहोरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन्।
फोहोर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरेकी छन्।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन छ। यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन्।
हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै कुहिने फोहोर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ। सम्भावित केही स्थान पहिचान गरे पनि स्थानीय त्यस विषयमा सकारात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको गुनासो कामपाको छ।