ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका सवारीसाधन फेला पारेर बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएका व्यक्तिको निवेदनका आधारमा खोजी गर्दा उक्त मोटरसाइकल तथा स्कुटर फेला परेको जानकारी दिए।
उनले मोटरसाइकल पार्किङ गर्दा ध्यान दिनसमेत सम्पूर्ण चालकलाई आग्रह गरे। चालु आर्थिक वर्षमा उपत्यकाबाट दुई सय २१ मोटरसाइकल तथा स्कुटर हराएको निवेदन कार्यालयमा परेको छ। निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजी गर्दा एक सय एक सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको प्रवक्ता भट्टले बताए।
चालु आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने नौ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र विभिन्न वृत्तमा पठाइएको सो कार्यालयले जनाएको छ।