पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेगमा भएको सवारी दुर्घटनामा एक चालकको बिहीबार निधन भएको छ। निधन हुनेमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ घर भएका नम्बर ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए।
रसुवाबाट काठमाडौं जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो।
दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्याए पनि उनको अवस्था थप जटिल बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौंको सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो।
वैकल्पिक मार्गमा हल्का सवारीसाधनबाहेक अन्य सवारीसाधन गुडाउन अनुमति नदिएको अवस्थामा डिब्बा चालकले प्रहरीलाई छलेर साँघुरो सडक प्रयोग गर्दा दुर्घटना भएको प्रहरी प्रमुख चन्दले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।