सिरहामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक साताभित्र तीन जनाको मृत्यु भएको छ।
बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ।
पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा इनारभित्र पसेका थिए। बुबालाई करेन्ट लागेपछि छोरासमेत इनारभित्र पसेका थिए। करेन्ट लागेर घाइते भएका दुवै बाबुछोरालाई उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरीक्षक राजु केसीले बताए।
सिरहा नगरपालिकामा करेन्ट लागेर यही भदौ ११ गते एक बालिकाको पनि मृत्यु भएको थियो। कलमा नुहाउन जाँदा पानि तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा सिरहा नगरपालिका–८ लबका टोल बस्ने चन्द्रदेव यादवको छोरी आठ वर्षीया रागनीकुमारी यादवको मृत्यु थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल सिराहा लाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।