मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको हो।
यसैगरी मकवानपुरमा डेंगीको प्रकोप पनि नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार अपराह्नसम्म मनहरि गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरी सात सय ५० जना डेंगी रोगीको पहिचान भएको छ। उनीहरूलाई तत्काल उपचार व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिए।
उनका अनुसार डेंगी संक्रमित गम्भीर बिरामीको काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
केही सामान्य लक्षण भएका डेंगी बिरामीको भने हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए।
उनका अनुसार, हेटौंडा उपमहानगरको वडा नम्बर ४ र ५ मा हालसम्म सात सय डेंगी बिरामी फेला परेका छन्।