झापा, मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन्।
काकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो।
प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी मंगलबार बिहानदेखि बिरामी परेको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।
मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए। अधिकांश बिरामी महिला र बच्चा रहेको पराजुलीको भनाइ छ।
बिरामीहरूको मनिषा मेडिकल, तेजस्वी क्लिनिक, आम्दा अस्पताल, बिर्तासिटी, बिएन्डसी र ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताए। उनका अनुसार चिकित्सकले विषाक्त खानाले बिरामी भएको बताएका छन्।