दैलेख नारायण नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई नगरपालिकाभित्र रहेका विद्यालयमा बालविकास योजनाबारे जानकारी गराएको छ।
एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो।
नगरप्रमुख, निर्वाचित वडाध्यक्ष, वडासचिव, बालबालिकाका क्षेत्रमा काम गरिरहेका निकायलाई राखेर बालविकास योजनाको प्रभावकारिता, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको भूमिकाका बारेमा छलफल गरिएको छ।
नगरपालिकाभित्रको शैक्षिक अवस्था सुधार गर्नेबारेमा शैक्षिक रणनीति निर्माण गर्ने तयारी गरेको र सोहीअनुसार विद्यालयका शिक्षक तथा बालबालिकाको शैक्षिकस्तरसँगै पोषण सुधारका काम गर्ने तयारी गरेको नगरप्रमुख लोमन शर्माले जानकारी दिए।
नगरपालिका र सेतो गुराँस बालविकास सेवा दैलेखको संयुक्त साझेदारीमा यो अभियान थालनी गरिएको हो।
बालबालिकालाई गर्भावस्थादेखि जन्मेको आठ वर्षसम्म आवश्यक पर्ने सबैखाले विकासमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको र योजना निर्माणको तयारी भएको सेतो गुराँस बालविकास सेवाकी निर्देशक राधा मल्लले बताइन्।
उनले उक्त नगरपालिकाभित्रका ३८ विद्यालयमा शैक्षिक सुधार अभियान सुरू गरिने र सोहीअनुसार बालबालिकालाई पोषणयुक्त आहार, विद्यालयको भौतिक संरचनामा प्रभावकारिता, कक्षाकोठाको व्यवस्थापन, शिक्षासँगै स्वास्थ्य वृद्धि अभियान थालिने बताए।