रूकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौला पीडित थिए।
दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलासिस गर्दै आएका थिए। केही समय काठमाडौंमा डायलासिस गरेपछि दाङको लमहीमा डायलासिसका लागि आए। छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो।
सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा वि.सं २०७८ साउन १२ गते नाम दर्ता भयो। तर त्यो नाम दर्तामा मात्रै सीमित भयो। उनलाई तुलसीपुर ल्याउन सकिएन। उनको लमहीमा उपचारकै क्रममा मृत्यु भयो।
त्यस्तै, रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलासिस गर्नका लागि नाम दर्ता गराए।
वि.सं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन सकेका छैनन्। उनले अहिले काठमाडौंमा उपचार गराइरहेका छन्। त्यहाँ उनले मासिक रु छ हजारको कोठा भाडा लिएर बसेका छन् भने आवतजावत गर्दा पनि निकै खर्च हुने गरेको छ। अहिलेसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ। खर्च कम गर्न तुलसीपुर आउन खोजेको भए पनि तुलसीपुरमा शय्या खाली हुनसकेको अवस्था छैन।
त्यस्तै, शान्तिनगर गाउँपालिका दाङ निवासी २२ वर्षीय प्रताप चौधरी पनि तुलसीपुर आउनका लागि २०७८ साउनमै नाम दर्ता गराए। उनले पनि पालो पाउन सकेका छैनन्।
अहिले उनको लमहीस्थित डायलासिस सेन्टरमा उपचार भइरहेको छ। पायक पर्ने ठाउँबाट सेवा पाउन धेरै सङ्घर्ष गर्नुपर्छ। सल्यान शारदा नगरपालिका–७ कजेरी निवासी गीता खड्का यसअघि लमहीस्थित डायलासिस सेन्टरमा थिए। त्यसपछि घरभन्दा अलि नजिक र सहज हुन्छ भनी तुलसीपुरमा आउन खोजे, तर एक महिनापछि मात्रै प्रादेशिक अस्पताल तुलसीपुरको डायलासिसमा पालो आयो।
त्यस्तै, सल्यानकै मस्तबहादुर खड्काले पनि पाँच महिनापछि मात्रै प्रादेशिक अस्पतालमा पालो पाए। त्यसभन्दा अघि उनी काठमाडौंमा डायलासिस गर्दै आएका थिए। आउँदा–जाँदा तथा काठमाडौं बस्दा महँगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने हुँदा उनी यहाँ आउन खोजेका थिए।
मिर्गौलाको उपचारकै क्रममा रु १२–१५ लाख खर्च भएकाले अब जति सक्यो कम खर्च गर्न घरदेखि नजिकै भए सहज हुने उनको भनाइ थियो।
यस्तै, धेरै मिर्गौला पीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन्। राप्ती प्रादेशिक अस्पतालमा पाँच वटामात्र डायलासिस मेसिन चालु अवस्थामा छन्। त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि मात्रै आठ वटा मेसिन पठाएको छ। तर त्यो जडान हुनसकेको छैन।
जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलले बताए।
‘अहिले हामीसँग पाँच वटामात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ’, उनले भने, ‘अब थप आएका आठ वटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ।’
अहिले प्रादेशिक अस्पतालमा ८० बिरामी पालो कुरिरहेका छन्।
कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको उनले बताए। अहिले चार स्टाफ नर्समात्रै भएकाले यसमा थप हुनुपर्ने बताए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले पाँच वटा बेडमात्रै छन्। जसबाट २५ जनालाई सेवा दिन सकिएको छ। मन्त्रालयले केही दिनअघि मात्रै १० वटा डायलासिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए।
उनका अनुसार अहिले ४० जनासम्म डायलासिसको प्रतीक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने उनको भनाइ छ।
त्यस्तै, लमहीमा पनि अहिले करिब ८० जना डायलासिसको प्रतीक्षामा छन्। अहिले २४ जनाको डायलासिस गरिएको छ। ठाउँ पनि आवश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको चिकित्सक डा अबदुस बुथ खानले बताए।
लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्पतालले उक्त डायलासिस सेन्टर सञ्चालनमा ल्याएका हुन्।