ललितपुर, जाउलाखेलको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ। करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको संख्या बढ्दै जाँदा बासस्थान साँघुरिएको बताइएको छ।
यसैगरी आगन्तुकको भीडले होहल्ला हुँदा वन्यजन्तुलाई असर पर्ने गरेको छ। वन्यजन्तुअनुकूल खोर भए पनि ठूला हलको अभावमा समस्या समाधान हुन नसकेको चिडियाखाना प्रशासनले जनाएको छ।
२०५२ सालदेखि चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले गर्दै आएको छ। हाल सदर चिडियाखानामा कुल एक सय १३ प्रजातिका ११ सयभन्दा बढी वन्यजन्तु छन्। यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पन्छी, ८ उभयचर र १७ माछा छन्। नेपालमा लोप हुन लागेका भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रजातिलाई चिडियाखानामा संरक्षण गरी प्रदर्शनीमा राखिएको छ।
चिडियाखानाले अन्य देशका चिडियाखानासँग पशुपन्छी आदानप्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच, जलगैंडा र बाह्य प्रजातिका पन्छी ल्याएर प्रदर्शनमा राखेको छ। वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण गरिए पनि ठाउँ अभावमा ठूला वन्यजन्तुलाई साँघुरो हुँदै गएको चिडियाखाना प्रमुख रचना शाहले बताइन्।
'वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण त गरिएको छ तर पनि गैंडा, भालु, बाघ लगायत ठूला वन्यजन्तुलाई ठाउँ अभाव भएर केही साँघुरो भएको छ,' उनले भनिन्।
चिडियाखानामा प्राकृतिक बासस्थान जस्तै नभएपछि कृत्रिम वातावरण निर्माण गरेर वन्यजन्तुको व्यवस्थापन भइरहेको प्रमुख शाहले जानकारी दिइन्। वन्यजन्तुलाई नियमित रूपमा दिइने पोषण तथा खाना भने अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नै दिइने गरेको प्रशासनले जनाएको छ।
मांशाहारी जीवलाई राँगाको र कुखुराको मासु तथा केही जीवलाई माछा दिइन्छ। भालुलाई दूधसँगै पाउरोटी पनि दिइन थालिएको छ। वन्यजन्तुलाई दैनिक राँगाको मासु ३७ किलो, कुखुराको १० किलो र माछा पाँच किलो खुवाइने प्रशासनले बताएको छ। यस्तै यहाँ १४ लिटर दूध प्रयोग हुन्छ।
पोथी बाघलाई पाँच किलो र भालेलाई छ किलोका दरले दैनिक राँगाको मासु दिइने गरिएको चिडियाखाना प्रशासनको दाबी छ। जलगैंडा, अर्ना, मृग, हात्तीजस्ता शाकाहारी जीवजन्तुलाई फलफूल, चोकर, घाँस, दाना, पीठो दिइन्छ।
चिडियाखानाको क्षेत्रफल सानो र जोडी समस्याका कारण बाघ, भालु, वनमान्छे, घडियाल गोही, चाइनिज एलिगेटर, जलगैंडा, एकसिंगे गैंडा, हात्ती लगायतको संख्या बढ्न सकेको छैन। चिडियाखानाले सयभन्दा बढी घाइते, समस्याग्रस्त, अनाथ र चोरी सिकारीमा परेका जीवजन्तु उद्धार गरेको छ।
१९८९ सालमा तत्कालीन राणा प्राधानमन्त्री जुद्ध शमशेरले निजी प्रयोजनका लागि स्थापना गरेको यो चिडियाखानाको स्वामित्व २००७ सालपछि नेपाल सरकारले लिएको थियो। २०५२ पुस १४ मा स्वर्गीय राजा वीरेन्द्र शाहको स्वर्ण जन्मोत्सवका अवसरमा चिडियाखाना व्यवस्थापनको जिम्मा तत्कालीन सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई दिइएको हो।
त्यसपछि सरकारका विभिन्न निकायले यसको व्यवस्थापन गर्दै आएका छन्।
यो चिडियाखाना साँघुरो भएपछि सरकारले भक्तपुरस्थित सूर्यविनायकमा नयाँ चिडियाखाना निर्माण प्रक्रिया सुरू गरेको छ। सूर्यविनायकमा दुई सय ४५ हेक्टर क्षेत्रफलमा ‘जिओलोजिकल गार्डेन’ सहित चिडियाखाना बन्दै गरेको प्रमुख शाहले जानकारी दिइन्।