आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम आज बिहानैदेखि सुरू भएको छ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि शनिबार बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरुले उपवास सुरू गरेका हुन्।
नेपाल र भारतका विभिन्न भागमा नहा खा (नुहाएर खानु) विधिअनुसार शुक्रबारदेखि पर्व सुरू गरिएको होे।
व्रत बस्नुअघि शुक्रबारका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाई परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए।
बिहानैदेखि निराहार एवं निर्जल व्रत सुरू गरेर आइतबार बेलुका ५ बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए।
तराई मधेसका मधेसी तथा थारू महिलाले मनाउने यस पर्वमा महोत्तरीका सयौं व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरूणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गर्दछन्। यो कथा बुढापाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।
व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ। देवतालाई चढाएकै तेलबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ। व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरूवा (कोदो)’ भनिन्छ।
त्यसैगरी धार्मिक विधिपूर्वक आज एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ। प्रायजसो महिलाले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ। त्यसपछि कठोर उपवासको क्रम सुरू हुन्छ।
आश्विन कृष्णपक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष रहेको जलेश्वर नगरपालिका–८ पण्डित कालीकान्त झाले बताए।