अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले उपसचिव नेपाललाई केही दिन पहिले पाराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बिबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग छ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो।
आयोगले आरोपी नेपालविरूद्ध छ लाख रूपैयाँ बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ।
आयोगले सापटीवापत लिएको भनिएको १६ लाख ५० हजार रूपैयाँ जफत गर्न पनि माग गरेको छ। आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो।
बिबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ।