महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरूद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ।
अनिरूद्धमाथि महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फसाएर उठिबास र घरबारबिहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप छ।
भङ्गाहा नगरपालिका–५ बस्ने ४० वर्षीय अनिरूद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो।
महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरूद्धले थुप्रै मानिससँग अवैध रूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारबिहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन्।
अनिरूद्धलाई ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो। उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश भएपछि जलेश्वर कारागारमा पठाइएको छ ।