वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको ५०औं स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा शुक्रबार कसरामा आयोजित कार्यक्रममा उनले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समुदायको हुनुपर्ने बताए।
वन्यजन्तु वनमा र मानव समुदायमा रहनुपर्ने बताउँदै उनले भने, 'तपाईंहरू वन्यजन्तुको संरक्षण गर्नुहोस्। तपाईंहरूको संरक्षण सरकारले गर्छ।'
समुदायका लागि जीविकोपार्जनका कार्यक्रम मन्त्रालयले गर्ने उनको भनाइ थियो।
निकुञ्ज ऐन, २०२९ ले समस्या सिर्जना गरेको भन्दै उनले भने, 'यो ऐन मानिसको आवश्यकताअनुसार परिवर्तन हुन्छ।'
यस ऐनका कारण पनि मानव र जनावरबीच द्वन्द्व बढ्दै गएको उनले बताए।
वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सरकारले काम सुरू गरेको उनले बताए। वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन नयाँ उपकरण जडान गरी वन्यजन्तु बस्तीमा पस्न रोक्ने तथा अन्य गतिविधि निकुञ्जले गर्ने उनको भनाइ थियो। भारतमा सफल परीक्षण भइसकेको 'एनाइडर' प्रविधिको यहाँ पनि प्रयोग गर्न लागिएको उनले जानकारी दिए।
'भारतको झारखण्ड र उत्तर प्रदेशमा जनावर र मानवबीचको द्वन्द्व कम गर्न प्रयोग भएको उपकरण यहाँ पनि प्रयोग गर्ने तयारीमा छौं,' उनले भने।
यसका लागि सरकारले दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।
'अहिले बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ,' उनले भने, 'यसले जनावरलाई बस्ती पस्न रोक्न मद्दत पुग्नेछ।'
वातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको उनको भनाइ थियो।
'वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर नेपालमा देखापर्न थालेको छ,' उनले भने, 'जलवायु परिवर्तनको विषयमा विज्ञहरूसँग परामर्श गर्ने काम भइरहेको छ। नेपालमा पनि क्लाइमेट इमर्जेन्सी लगाउनुपर्ने समय आइसकेको छ। विज्ञहरूको राय आएपछि निर्णय लिन्छौं।'
कार्यक्रममा वक्ताहरूले निकुञ्ज र समुदायबीच द्वन्द्व न्यूनीकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए। राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्दा निकुञ्ज र समुदायबीच दुरी कम हुन नसकेको उनीहरूको भनाइ थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा अहिले भएका गतिविधि र विगतका कामका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा जैविक विविधता संरक्षणमा सहयोग पुर्याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने, संरक्षणका विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको थियो।
निकुञ्जले ५०औं स्थापना दिवस पारेर वर्षभरि विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ। निकुञ्जले प्रकाशन गरेको स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण र वृत्तचित्र प्रदर्शन गरिएको थियो। २०३० सालमा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो। असोज ४ गते निकुञ्ज ५०औं वर्षमा प्रवेश गरेको छ।