राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैंको टीका ग्रहण गरेकी छन्
बडादसैँ २०७९ को अवसरमा उनले शितलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन्।
राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्न राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।