धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ।
त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरूङमार्ग क्षेत्रमा लगातार गइरहेको पहिरो हटाउन समस्या भएको छ। लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रित रूपमा पहिरो झरिरहेको छ। डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।
पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभाबी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौं भित्रिने राजमार्ग अवरूद्ध हुने गरेको छ।
तीन दिनदेखिको लगातार वर्षाका कारण पृथ्वी राजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रूखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ। सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रूख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए।
त्यस्तै गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरूद्ध भएको छ। गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारी साधनको राजमार्गमा लामो जाम लागेको छ।
डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहे पनि लगातारको पहिरोले यातायात सञ्चालनमा कठिनाइ आएको छ। धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रूबीभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरूद्ध भएको छ।
ठाउँठाउँमा पहिरो गएपछि यातायात साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिए। लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका क्षेत्रमा राहत उद्धारमा लाग्नसमेत आग्रह गरेका छन्।