मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ। पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ।
मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।
'काठमाडौं उपत्यका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ। शनिबार दिउँसोबाट बिस्तारै सुधार हुँदै जानेछ। पश्चिममा भने भारी वर्षा भइरहेको छ,' उनले भने, 'गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम बिस्तारै खुल्दै जान्छ।'
महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार भारी वर्षा हुने महाशाखाले जनाएको छ।
भेरी नदीमा जलस्तर खतराको तह पार
निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ। पछिल्लो ६ घन्टामा भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पार गरेको छ।
जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ। भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको पाँच मिटर हो। अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ।
अहिले वर्षा भइरहेकाले आगामी ६ घन्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ। भेरी किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरंगा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायत बस्ती जोखिममा छन्।
बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैं अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो।
भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए। नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ।
कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधर लगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ।
विभागको कञ्चनपुर शान्तिपुर बेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घन्टामा १२५ मिमी, छ घन्टामा ८३ दशमलव ८ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षाको मापन भएको छ।
कार्यालयका प्रमुख सञ्जय साहले भने, 'आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ।'
यो महिनाको अन्तिमसम्म वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली अझै एक साता नकाट्न कार्यालयले आग्रह गरेको छ।
विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन्।
मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नम्बर १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए।
अहिले पनि डुबान क्षेत्रका मानिस आफ्नै घरमा रहेका र उनीहरूलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए।
'पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,' उनले भने। मध्यवर्ती क्षेत्र र निकुञ्जका कारण बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ।
'मानिसहरू बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने छौं,' अध्यक्ष गिरीले भने।
लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुई सय हेक्टर धानबालीसमेत पूर्ण रूपमा क्षति भएको जनाइएको छ। उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रूपमा नष्ट भएको छ।
नारायणी नदीमा यस वर्षकै उच्च बाढीका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। बिहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए।
नारायणीमा आएको बाढीका कारण बिहीबार गैंडाकोट नगरपालिका–२ का ८० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरपरिवार डुबानमा परेका छन्।
डुबानमा परेकाहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ।