कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो।
संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीले गएराति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको जानकारी दिए।
यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रूपैयाँको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो। उक्त समस्या समाधान हुनेबित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो।
इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरूद्ध भएको हो।
पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए।