गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ।
पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्छ। अविरल वर्षाका कारण छिनछिनमा पहिरो खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विक बताउँछन्।
पहिरा पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइनपुग्दै फेरि पहिरो खसेको जानकारी आएपछि दगुर्नु पर्ने बाध्यता रहेको उनले बताए।
शुक्रबार बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरूद्ध भएपछि पहिरो पन्छाएर सवारी साधन सञ्चालन गरेलगत्तै पुनः राजमार्ग रोकिएको उनले जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पानी नरोकिएका कारण पहिरो पन्छाउन सास्ती हुने गरेको छ।
उनले भने, 'कतिखेर कहाँ पहिरो खस्छ, थाहै हुँदैन।'
पहिरोका कारण सदरमुकाम दमौली–केशवटार जाने मार्ग अवरूद्ध भएपछि पन्छाउन थालिएको छ।
६ घर जोखिममा
अविरल वर्षाका कारण विभिन्न स्थानका ६ वटा घर जोखिममा परेका छन्। व्यास नगरपालिका–१ निर्मलबस्ती नजिक छाब्दीखोला नजिक पहिरो जाँदा तीन घर जोखिममा परेका छन्। पहिरोका कारण छाब्दी लिफ्ट खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिए। पहिरोका कारण उक्त घरका मानिस सुरक्षाका लागि छिमेकीकोमा शरण लिनुपर्ने अवस्था छ।
त्यसैगरी व्यास नगरपालिका–३ देउराली नगरमा एक घरमा पहिराले क्षति बनाउनुका साथै व्यास–५ मानुङ्गमा दुई घरमा क्षति पुर्याएको छ। जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने श्रृङ्ग सडक मार्गमा पहिरो जाँदा पूर्ण रूपमा अवरूद्ध भएको छ।
जिल्लाको घिरिङ गाउँपालिका–५ देउरालीमा पहिरो गएका कारण सवारी आवागमन रोकिएको घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अञ्जान परियारले जानकारी दिए। सडक विस्तार नगरेसम्म ठूला कुनै पनि सवारी साधन चल्न नसक्ने अवस्था देखिएको उनले बताए।
खानेपानीको समस्या
वर्षाका कारण खानेपानीको समस्या पनि सर्वसाधारणले उत्तिकै भोग्नुपरेको छ। व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिरोले बगाएपछि खानेपानीको समस्या भएको हो।
खानेपानीको पाइप पहिरोले बगाएपछि धारामा पानी नआउँदा कहाँको पानी खाने भन्ने चिन्ता वडाबासीलाई छ। तीन दिनदेखि धारमा पानी नआएको स्थानीय कविता कोइरालाले जानकारी दिइन्।
वडामा रहेका करिब तीन हजार उपभोक्ताले उक्त खानेपानी समितिले वितरण गर्दै आएको पानी उपभोग गर्दै आएका थिए।