जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
'बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबै जना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्,' उनले भने, 'प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।'
जुम्लामा निरन्तर वर्षा भइरहेको छ। घटनास्थलमा पुग्ने सडक सबै भत्किएको छ। जिल्ला सुरक्षा समितिको टोली पैदल घटनास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए।
'हामी सबै बाटोमै छौं, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो,' उनले भने, 'साँझसम्म घटनास्थल पुग्ने आस गरेका छौं।'
सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए। वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरूद्ध भएको उनको भनाइ छ।