नुवाकोटको विदुर नगरपालिका–५ मा शनिबार अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
घाइते हुने दसैंको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त हुन्।
बेलकोटगढी–१२ मदानपुरबाट दसैंको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रूपक खड्काले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये बेलकोटगढी–१२ का १७ वर्षीय दिपेश गजुरेल, बेलकोटगढी–६ का १८ वर्षीय प्रवत सुवेदी र विदुर–१२ का ६५ वर्षीय छविलाल रिमालको टाउकोसहित शरीरको विभिन्न अंगमा चोट लागेको छ। उनीहरूको त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ। बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइतेमा बेलकोटगढी–१२ का ४४ वर्षीय सुदर्शन गजुरेल र उनकी श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीका बुबा ३८ वर्षीय रामहरि सुवेदी, छविलाल रिमालका छोरा १८ वर्षीय सागर रिमाल, बेलकोटगढी–१२ का ३४ वर्षीय बसन्त सिलवाल र उनकी १६ महिनाकी छोरी ऋतु सिलवाल छन्।
यस्तै बेलकोटगढी–७ का १२ वर्षीय समीर ढकाल, विदुर–१२ की ४६ वर्षीया महेश्वरी पण्डित र उनकी छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानकी १९ वर्षीया शर्मिला पण्डित र बोलेरो चालक बेलकोटगढी–१२ का २५ वर्षीय ठाकुर गजुरेल पनि घाइते भएका छन्।
प्रदेश ३–०१–०२३ च–९०३८ नम्बर को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैंको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए।