निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन्।
निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भुक्तानी रकम नदिँदा ठेकेदार पक्षले काम रोकेका हुन्।
तटबन्ध निर्माणमा सूर्य कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, गजुरमुखी निर्माण सेवा, महादेव खिम्ती एण्ड मल्लदेवी ज्वाइन्ट भेन्चरलगायत कम्पनीले काम गरिरहेका छन्।
निर्माण कम्पनीले बिलअनुसारको रकम नपाउँदा मजदुर, सवारी साधन, इन्धन, भौतिक सामग्रीलगायतको रकम भुक्तानी दिन नसकेको जनाए । कार्यालयका अधिकृत धु्रव पोखरेलले बजेट निकासा नहुँदा तटबन्धको काम प्रभावित बन्दै गएको बताए।
बजेटको अभावमा काम गर्ने वातावरण नभएकाले व्यवसायी निर्माणस्थलमा आउन छाडेको आयोजनाका कर्मचारी बताउँछन्। समयमा तटबन्ध निर्माण नभए बाढीको जोखिम बढ्ने स्थानीयवासीको गुनासो छ। केही दिन पहिले परेको पानीका कारण बन्दै गरेको तटबन्ध बगाएको कम्पनीका कर्मचारीले बताएका छन्।
कर्णाली र यसको भङ्गालो गेरुवा नदीस्थित विभिन्न नौ ठाउँमा तटबन्धको काम २०७१ सालदेखि सुरु गरिएको थियो। पाताभारको वनघुस्रा, राजापुरको टिहुनी, सनकट्टीघाट–१ मुर्गवालगायतका ठाउँमा तटबन्धको काम भइरहेको छ।
निर्माण व्यवसायी टङ्क खत्रीले तीन महिनादेखि रनिङ बिलको रकम भुक्तानी नपाउँदा काम गर्ने वातावरण नभएको बताए। जिल्लास्थित कार्यालय र विभागमा बजेट निकासाका लागि पहलका लागि दौडधुप गरेपनि सफल नभएको उहाँले जानकारी दिनुभयो । नदी कटान र बाढीले यस क्षेत्रका करिब पाँच हजार घरधुरी बाढीबाट बर्सेनि प्रभावित हुने गरेका छन्।
त्यस्तै, जलउत्पन्न कार्यालयले बबई नदी र अन्य खोला ठेक्कामा दिएका काम पनि बजेटको अभावमा प्रभावित बन्दै गएको जनाएको छ। गुलरियाको थपुवा, लटकनिया, पशुहाट, प्रयागपुरलगायतका ठाउँमा निर्माण भइरहेको तटबन्धको रकमसमेत निकासा हुन सकेको छैन।
जलउत्पन्न कार्यालयका अधिकृत पोखरेलले असारको पहिलो साता बजेट निकासा हुने बताए। असारको पहिलो साता मात्रै बजेट निकासा हुँदा चालु कामसमेत पूर्ण नहुने देखिएको छ। रासस