शुक्रबार साँझदेखि सम्पर्कविहिन भएका दाङका व्यापारी राजकुमार श्रेष्ठको कार सल्यानको शितलबजारमा फेला परेको छ।
शुक्रबार साँझ ६ बजे तुल्सीपुरमा नै रहेका व्यापारी श्रेष्ठ राती ९ बजेदेखि सम्पर्क विहिन भएका थिए।
संगै रहेका उनका साथीभाईले भने कसैको फोन आएपछि उनी तुल्सीपुर बजारबाट हिँडेको प्रहरीसमक्ष बताएका छन्।
श्रेष्ठ हराएपछि खोजविन तिब्र पारेको प्रहरीले उनले चलाउँदै आएको बा १२ च १०७१ नम्बरको कार सल्यानको शितलबजारमा फेला परेको छ। चार वटै टायरमा हावा फुस्काएको अवस्थामा गाडी भेटिएको हो।
गाडीमा महिलाको जुत्तासमेत फेला परेको छ। महिला प्रयोग गरेर उनको अपहरण भएको हुन सक्ने दाङका ब्यापारीहरुले अनुमान गरेका छन्।
दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार श्रेष्ठको कार फेला परेको स्थान धना जंगल छेउमा हो ।
'अहिलेसम्म अपहरण गर्यौं भनेर कसैले परिवारलाई खबर गरेका छैनन्' एसपी सिंहले भने 'श्रेष्ठ अपहरणमा परेको भए अहिलेसम्म केही न केही पत्ता त लागिसक्नु पर्ने हो ।'
प्रहरीले श्रेष्ठको परिवारसँग थप सोधखोज गरेको छ। 'श्रेष्ठको कसैसँग व्यक्तिगत दुश्मनी पनि नभएको परिवारले बताएका छन्' एसपी सिंहले भने 'व्यक्तिगत र घरायसी कारण पनि केही छैन। '
श्रेष्ठको गाडी भेटिएको घना जंगलमा रिममा अहिले सर्च अभियान चलाइरहेको एसपी सिंहले बताए। 'दाङ, सल्यान र रोल्पाका ३ सय प्रहरी श्रेष्ठको खोजीमा खटिरहेका छन् ,' एसपी सिंहले भने 'स्थानीय नाकाहरु पनि बन्द गरेका छौं।'
प्रहरीले श्रेष्ठको कल डिटेल पनि हेरेर अनुसन्धान अघि बढाएको छ। त्यस्तै प्रहरीका अनुसार रूकुममा स्काभेटरको पैसा लिन भारतीय नम्बर प्लेटको अर्को गाडीमा भारतीय तीन जना व्यक्तिहरु सँगै रूकुम जाँदै गरेका घोराहीका अर्का एक जना ठेकेदार रणबहादुर घर्ती पनि बेपत्ता छन्।
यसअघि गत दशैंको समयमा श्रेष्ठका एक कर्मचारीले बोकेको ३० लाख भारतीय रुँपैया तुलसीपुरबाटै लुटपाट भएको थियो। त्यस्तै वैशाख १९ गते एकाएक बेपत्ता भएर जेठ १६ गते घोराही–लमही सडक खण्डको चौपट्टाको जंगलमा तुलसीपुरका अर्का व्यापारी ३८ वर्षीय रत्नबहादुर ओली मृत अवस्थामा फेला परेका थिए।
ओलीलाई शुक्रबार बेपत्ता तुलसीपुरकै अर्का व्यापारी राजकुमार श्रेष्ठले एक करोड ऋण दिएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।