दाङमा एकजना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङ देउखुरीको गढुवा स्थित ज्ञानोदय मावि केन्द्रका मतदान अधिकृत दत्तराय अधिकारीलाई निर्वाचन आचरण विपरित गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
सोमबार दिउँसो मदिरा सेवन गरी मातेर मतदान केन्द्रमा गएकाअधिकारीले मतपत्र लिन गएका सर्वसाधारणलाई अभद्र व्यवहार तथा गाली-गलौज गरेको हुँदा आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिनु परेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतले नै आचारसंहिता विपरित गतिविधि गरेको पाइएपछि जनगुनासोको आधारमा नियन्त्रणमा लिनु परेको एसपी सिंहले बताए।
निर्वाचन आचारसंहिता विपरितका क्रियाकलाप गरेका अधिकारीको ठाउँमा अर्का निर्वाचन अधिकारी खटाउन मुख्य निर्वाचन अधिकारी समक्ष सिफारिस गरिएको छ।
दुई हवल्दार निलम्बितःयसअघि मदिरा सेवन गरी मतदान केन्द्रको सुरक्षामा खटिएको पाइएपछि प्रहरीले दाङका दुई प्रहरी हवल्दारलाई निलम्बन गरेको थियो।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि दाङको तुलसीपुर क्षेत्रका बुथमा खटिएका दुई प्रहरी हवल्दार मदिरा खाएको अवस्थामा फेला परेपछि निलम्बित गरिएको दाङका प्रहरी प्रमुख सिंहले जानकारी दिए।
दाङमा प्रहरीले असार ८ देखि एक हप्ताको लागि मदिराजन्य वस्तु विक्री-वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ।
सर्वधारणलाई मदिरा विक्री-वितरण गर्न र सेवनमा रोक लगाएको अवस्थामा मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी स्वयम्ले मदिरा सेवन गरेकाले निलम्बित गरिएको एसपी सिंहले बताए।