गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका– ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत लैजाँदै गर्दा यही असार १५ गते प्रहरीले पक्राउ गरेको हो। सो चरेस धादिङबाट ल्याइएको थियो।
चरेस बरामद भएकै दिन चालक मोजहर मन्सुर र सहचालक अजयकुमार रामलाई प्रहरीले पक्राउ गरेको थियो। अट्ठाइस वर्षीय मन्सुर बारा जिल्लाको जितपुर सिमरा नगरपालिका–२३ का र १९ वर्षीय कुमार राम बारा प्रस्टोका–४ का हुन्। दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३२ अन्तर्गत कारबाही गरिने थापाले बताए। रासस