काठमाडौंबाट मधेश झरेका विद्यार्थीहरुले रौतहटका २ सय बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन् ।
राजधानीको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समुहले स्वतन्त्र रुपमा संकलन गरेको ३० लाख मूल्य बराबरको खाद्यान्न र लत्ता कपडा रौतहटस्थित लक्ष्मीपुरका बाढी पिडितलाई वितरण गरिएको राहत वितरणमा गएका अशोक थापाले बताए ।
लक्ष्मीपुरका २ सय परिवार बाढी पिडितलाई खाद्यान्न र लत्ता कपडा वितरण गरेका अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका थापाले जानकारी दिए।
फरक फरक संगठनमा आवद्ध भएका साथीहरु मिलेर देशमा संकट आउँदा मिल्नु पर्छ भनेर काठमाडौंबाट राहत बोकेर तराई झरेको अखिल क्रान्तिकारीका सचिवालय सदस्य नरेश रेग्मीले बताए।
नेपाल विद्यार्थी संघ आर. आर इकाईका उपाध्यक्ष पुस्कर बास्तोलाले तराई मधेश डुबानमा पर्दा टुलुटुलु हेरेर बस्न नसकेको बताउँदै हिमाली, पहाडी वा मधेशी जे भएपनि आखिर हामी नेपाली हौं एउटा नेपालीलाई दुःख पर्दा अर्काे नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावना बोकेर राहत बाढ्न आएको बताए।
अभियानमा राष्ट्रिय बक्सिङ संघका महासचिव महेश श्रेष्ठ, स्वतन्त्र विद्यार्थी युनियन आर. आर क्याम्पसका कोषाध्यक्ष संगम देवकोटा, सुभाष ढुंगाना, देवेन्द्र शर्मा, सागर ज्ञवाली, नविन केडी, सुष्मा बराइली, तुलसा कार्की लगायत सैंयौं विद्यार्थीहरुले सहयोग गरेका छन्।
२ सय परिवार बाढी पिडितका लागि ३० लाख भन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरेको उनीहरुले जानकारी दिएका छन्।