साझेदारी वन उपभोक्ता महासंघ नेपालले वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ ।
स्थानीय तहको मातहतमा वन क्षेत्र रहँदा वन पैदावारमा वन क्षेत्र भन्दा टाढाको उपभोक्ताको पहुँच नपुग्ने भन्दै महासंघले प्रदेशको मातहतमा वन क्षेत्रलाई राख्नुपर्ने बताएको हो । एउटा साझेदारी वनको क्षेत्रफल करिब पाँचवटा स्थानीय तह भन्दा पनि बढी रहेकाले यसको सबै जिम्मेवारी प्रदेश मातहतमा हुनुपर्ने महासंघको तर्क रहेको छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष जयप्रकाश पाण्डेले साझेदारी वनलाई प्रदेश मातहत नराखिए थप आन्दोलन गर्ने बताए। साझेदारी वन उपभोक्ता महासंघले वन क्षेत्र भन्दा टाढाका उपभोक्ताको अधिकार संरक्षणका लागि नीति निर्माण गर्न सरकारसँग अनुरोध गरेको छ ।
साझेदारी वन व्यवस्थापन महासंघको केन्द्रीय अध्यक्ष रामरुप कुर्मीले साझेदारी वनमा दुरदराजका उपभोक्ता आवद्ध रहेकोले स्थानीय तहमा साझेदारी वन हँुदा त्यस्ता उपभोक्ता सेवाबाट स्वतः वञ्चित हुने दाबी गरे।
एक सय ५२ वटा स्थनीय तहहरुमा वन नभएको स्थितिमा त्यस्ता स्थानीय तहका बासिन्दा प्राकृतिक स्रोत उपभोग गर्नबाट वञ्चित हुने महासंघको दाबी छ । रासस