मानिसको जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै गएको छ। पहिले विकसित राष्ट्रमा मात्र यो रोगको प्रकोप थियो, अहिले अविकसित देशमा पनि यसको प्रकोप बढ्न थालेको छ।
यही कारणले मुटु रोगबाट बच्ने तौरतरिका प्रचारप्रसार गर्ने उद्धेश्यले विश्व मुटुदिवस मनाइँदै आएको छ। यो वर्ष ‘सेयर द पावर’(स्वस्थ जीवनशैलीका अनुभव बाँडौ) नारासहित १८ औं विश्व मुटु दिवस मनाइँदैछ।
यसमा मुटु स्वस्थकर बनाउन सबभन्दा पहिला आफैंले स्वस्थकर जीवन बिताउनुपर्ने सुझाव दिइएको छ। यी सुझावहरु अाफूसँग मात्रै होइन, अरुलाई पनि बाँड्नुहोस्।
मुटु जोगाउने प्रमुख ५ सुझाव निम्न छन्ः
१.सुर्ति र सुर्तिजन्य पदार्थ प्रयोग नगर्ने। यसले मुटुका रोग लाग्ने सम्भावना ५० प्रतिशत कम हुन्छ।
२. मुटु रोगको अर्को प्रमुख कारण खानपान हो। यसमा पनि गुलियो पदार्थ हो। पहिला–पहिला चिल्लो भन्ने गरिन्थ्यो। नयाँ सिद्धान्त र अनुसन्धानअनुसार चिल्लोले भन्दा गुलियोले मुटुलाई बढी असर गर्छ। गुलियोले कोलस्ट्रोल, मधुमेह र मोटोपना बढाउँछ। यसले हृदयघात समेत गराउन सक्छ। मैद तथा जंक फुडले मुटुलाई बढी असर गर्छ। घ्यू,बटर,मासुमा भएको चिल्लोले धेरै हानी गर्दैन भन्ने पछिल्लो अनुसन्धानबाट प्रमाणित भएको छ। तर त्यही चिल्लो तताएर डढाएर, बारम्बार तताएर खायौं भने त्यसले हानी गर्छ। बारम्बर तताइएको चिल्लो ‘ट्रान्सफ्याट’ मा परिणत हुन्छ। खानामा जति बढी ट्रन्सफ्याट हुन्छ त्यति बढी मुटुलाई आघात पुग्छ। फाइबर भएको खाना कम भएपनि मुटुलाई असर गर्छ। हरियो सागसब्जी,गेडागुडी, गहुँ, फापर जस्ता अन्नमा फाइबर हुन्छ। बाहिरको बोक्रा नफाली बनाइएको अन्न पनि फाइबर युक्त हुन्छ। मुटु बचाउन कार्बोहाइड्रेटको सट्टा प्रोटिन चाहिन्छ।
३.खानपान र आहारपछि मुटु स्वस्थ राख्ने शारीरिक व्यायाम हो। दैनिक कम्तिमा पनि तीस मिनेट शारीरिक व्यायाम गर्नुपर्छ। अलिकति लम्किएर मुटुको धडकन र सास बढ्ने गरी हिँड्नु वा व्यायाम गर्नुपर्छ। आधा घण्टा व्यायाम गर्दा जति मुटुलाई फाइदा हुन्छ त्यो एक, दुई घण्टा वा बढी गरेपनि फाइदा बढ्दैन।
४.मानसिक तनाव र उत्तेजनाको स्थितिमा हृदयघातको खतरा बढ्छ। मानसिक तनाव र आवेगले प्रेसर र मुटुको धडकन बढाउँछ। जसले गर्दा हृदयघात हुनसक्छ । मानसिक तनावलाई बैज्ञानिकहरुले खास वास्ता नगरेको भए पनि यो ठूलो कारण हो। मानसिक तनाव मेरो लागि हानिकारक छ भन्ने आत्मसात गरेर आचरण र सोचाइमा परिवर्तन ल्याउन पहल गर्नुपर्छ।
५.नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ । सुगर,कोलस्ट्रोल र प्रेसर कम्तिमा पनि वर्षमा एकपटक परिक्षण गर्नुपर्छ। स्याउ,अनार, आल्मोन्ड, काजु,ओखर,माछाको तेल लगायतका मुटुमैत्री खानाहरु खानुपर्छ । लसुन,अदुवा,करेला र हरियो खानेकुरामा जोड दिनुपर्छ। शरीरको तौल पनि नियन्त्रण गर्नुपर्छ। मुटु रोग लाग्ने अर्को कारण प्रदुषण पनि हो। यसले फोक्सो रोग मात्रै बढाउने होइन मुटु समस्या ल्याउने पनि प्रमाणित भइसकेको छ। यसका साथै मुटु रोगबाट बच्न खुसी रहने, अनिँदो नबस्ने, ध्यान तथा योग गर्नुपर्छ।
मुटु रोग लागेको कसरी थाहा पाउने ?मुटु रोगका केही लक्षण छन्।
१ पहिलो लक्षण छातीको बीचमा दुख्नु हो। त्यो दुखाइ परिश्रम गर्दा बढ्ने र आराम गर्दा कम हुने हुन्छ।
२ सास फेर्न गाह्राे हुन्छ। त्यो परिश्रम गर्दा बढ्ने र आराम गर्दा कम हुने हुन्छ। मुटु हल्लिनु पनि मुटु रोगको लक्षण हो।
३ खुट्टा सुन्निनु।
४ चक्कर लाग्नु। भर्खर जन्मेको बच्चा निलो देखिन्छ भने चिच्याउँदा वा रुँदा हात,खुट्टा,कान,नाक निलो हुने जन्मजात मुटु रोगका लक्षण हो।
५ पाँचदेखि १५ वर्ष उमेरकाहरूमा जोर्नीहरु दुख्ने र सुन्निने हुन्छ जसलाई बाथ ज्वरो पनि भनिन्छ। यो मुटु रोगको लक्षण हो। टन्सिल बढ्नु पनि लक्षण हो।
६ खकारमा रगत आउनु।
नियमित रुपमा स्वास्थ्य जाँच गर्यो भने मुटु रोगका लक्षण थाहा हुन्छ। व्लड प्रेसर, सुगर,कोलस्ट्रोलका साथै छातीको एक्सरे, मुटुको इसिजी र पिसाब पनि वर्षमा कम्तीमा एक पटक जँचाउनुपर्छ।
नेपालमा बीस प्रतिशत जनतालाई कुनै न कुनै रुपको मुटु रोग छ। सहरमा बढी छन् तर, पछिल्लो समयमा गाउँमा पनि मुटुरोगीको संख्या बढेको छ। गाउँमा जंक फुड खाने प्रवृत्ति बढेसँगै मुटु रोग सहरबाट गाँउ पसेको छ। सम्पन्नबाट बिपन्नमा, वृद्धबाट जवानमा र धनीबाट गरिबमा गएको छ। गाउँमा झण्डै एक तिहाइ मान्छेलाई उच्चरक्तचापको समस्या छ। तीनमा एक जनालाई उच्चरक्तचाप र बीस प्रतिशतलाई उच्च कोलस्ट्रोल छ।
मान्छेहरु आजभोलि सचेत भएका छन्। माथि भनिएका जस्ता केही लक्षण थाहा पाए जँचाउन आइहाल्छन्। तर जनचेतना बढेपनि मुटु रोगीको संख्या घटेको छैन। सचेत भए पनि स्वस्थ जीवनशैली अबलम्बन गर्ने वातावरण तयार छैन। रोगको रोकथाममा लाग्नुपर्छ। मुटु फेर्ने कामबाहेक सबै खाले उपचार नेपालमा सम्भव छ।
प्रस्तुतिः सन्जिब बगाले