टेनिस स्टार रोजर फेडेररले चौथो पटक ‘बीबीसी ओभरसिज स्पोर्ट्स पर्सनालिटी अवार्ड’को उपाधि हात पारेका छन्। मनोनयनमा परेका अन्य पाँच प्रतिस्पर्धीलाई पछि पार्दै स्विट्जरल्याण्डका फेडेररले उपाधि जितेका हुन्।
बीबीसीले वार्षिक रुपमा प्रदान गर्ने यो अवार्ड, आफ्नो वेबसाइटमा आएको कुल मतमा बढी रुचाइएकाे र बढी मत पाएकाे आधारमा फेडेररलाई प्रदान गरेको हो। विश्व टेनिस रेटिङमा हाल दोस्रो वरियतामा रहेका ३६ वर्षीय फेडेररले कीर्तिमानी चौथोपटक यो अवार्ड जितेका हुन्।
फेडरर बाहेक कीर्तिमानी धावक हुसेन बोल्ट, बक्सर मोहमद अलीले पनि यो अवार्ड ३/३ पटक जितेका छन्। कीर्तिमानी रुपमा उपाधि जितेपछि फेडेररले यस क्षण अविस्मरणीय रहेको बताउँदै सम्पूर्ण बेलायती नागरिकप्रति आभार व्यक्त गरे। उनले भने, ‘यो क्षण धेरै महत्त्वपूर्ण रहेको छ। साथसाथै म एकदमै गौरवान्वित छु किनकि बेलायतका जनताले मलाई यो अवार्डको लागि छनोट गरेका छन्।’
यो वर्ष ५२ खेलमा जित निकाल्दा ५ खेल मात्र गुमाएका फेडेररले ७ वटा उपाधि जितेका थिए। उनले सन् २०१७ मा आठ पटक विम्बल्डन टेनिसको उपाधि जितेर नयाँ किर्तिमान बनाएका थिए। साथै उनी १९ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने एक्ला खेलाडी पनि हुन्।