नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धामा सेमिफाइनल समिकरण पूरा भएको छ।
समूह चरणको अन्तिम खेलमा बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
समूह ‘ए’ बाट आर्मी समूह विजेता र पुलिस उपविजेता बन्दै अन्तिम चारमा पुगे। समूह ‘बी’ बाट एनआरएनए समूह विजेता र सुदूपश्चिम उपविजेता बनेर अन्तिम चारमा पुगेका थिए।
अब भोलि दुवै सेमिफाइनल हुनेछ। पहिलो खेलमा आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनलमा पुलिस र एनआरएनएबीच खेल हुनेछ।
यता बुधबार आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको पुलिसले ८ विकेटको क्षतिमा १६४ रन जोड्यो।
पुलिसका लागि आरिफ शेखले २४ बलमा ४० रन, सुनील धमलाले १५ बलमा २७ रन, दिलिप नाथले १४ बलमा २३ रन जोडे। बलिङमा आर्मीका सहाब अलामले २ विकेट लिए।
१९ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५ विकेटको क्षतिमा १७७ रन जोड्यो। उसका लागि कप्तान विनोद भण्डारीले नटआउट ६६ रन जोडे। उनले २९ बलमा २ चौका ७ छक्का प्रहार गरे।
त्यसअघि ओपनर अर्जुन साउदले ३४ बलमा ५३ रन जोडेका थिए। अर्का ओपनर हरि चौहान भने शून्यमा आउट भए। बलिङमा पुलिसका करण केसीले २ विकेट लिए।