पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन भएको छ। ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गरे।
रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो।
समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ। मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो। यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ। उद्घाटन समारोह अगावै रङ्गशालाका प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो। सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो। उद्घाटनकै क्रममा आतासबाजी गरिएको छ।
कूल ३६ वटा खेल र दुई प्रदर्शनी सहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन्। कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ। प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो।
३६ खेल मध्येका २६ वटा खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भैरहेको छ। गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन्। उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशिल गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ ग्रहण गरे। समारोहमा ओलम्पिक टर्च प्रज्वलन गरिएको थियो दीकाबहादुर बोगटीले प्रज्वलन गरेका थिए।