नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङका इभेन्टको नतिजा मंगलबारसम्ममा छिनोफानो भइसक्थ्यो।
प्याराग्लाइडिङका पाइलटहरू, यो क्षेत्रका विज्ञहरू र खेलमै सहभागी अन्य खेलाडीहरू नै स्वीकार्थे, 'निसिम थापा पदकका दाबेदार हुन्।'
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए। उनले त्यतिबेला रजत मात्र जितेनन्, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौशलद्वारा त्यसलाई प्रमाणित पनि गरे।
हावाको वेगसँग पौंठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन। ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउने छैन। अन्यथा सोमबार बिहान पनि उनी सराङकोटतिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे।
र, आज उनले सराङकोटबाट उडान भरेनन्, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए। उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमर्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौ सदन अनि रामघाट।
उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठूलो फ्लेक्समा मुस्काइरहेका निसिमको तस्बिर थियो। अनि लेखिएको थियो, 'हार्दिक श्रद्धाञ्जली, जन्म : २०५१/३/२०, स्वर्गारोहण : २०७९/६/३०।'
मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरी सुस्ताइरहेको एउटा शव थियो। तस्बिरमा जस्तो मुस्कान थिएन। गाडीमा सवार एक व्यक्तिले उनै निसिमको रंगीन तस्बिर बोकेका थिए। फुंग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरू कोही थिएनन्, थिए त निसिमका आफ्नै बुवा प्रकाश थापा।
गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरूको लस्कर, खेलकुदका पदाधिकारीको सहभागिता, पोखराका मेयरदेखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन।
आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ। बौद्ध अर्घौं सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन्, 'तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपर्थ्यो...।'
आमाबाबुको रोदन, क्रन्दनमा उनै निसिम थिए। जो उनीहरूका एक्ला सन्तान थिए। मुटुको टुक्रा थिए। त्यही भएर त उनीहरू छियाछिया हुन पुगे।
निसिम अब रहेनन्।
जति चोट आमाबाबुलाई पर्यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो। निसिम अब हावामा उड्ने छैनन्।
संस्कारअनुसार पूजा सकिएपछि निसिमलाई त्यही अर्घौं सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो। निर्जीव उनको शरीरको अस्तित्व खरान भयो।
उनको अन्त्येष्टिमा नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टरका पृतनापति बाबुराम श्रेष्ठ, आफन्त, पोखराका मेयर धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरूङ, प्रदेश खेलकुदका पदाधिकारी, खेलाडीहरूले श्रद्धाञ्जली दिएका थिए।