नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेकी छिन्।
त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।
यो स्पर्धामा एनआरएनएकी एस्ले सापकोटा डंगोलले ३१.११ सेकेन्डका साथ रजत र बागमतीकी रोशा न्यौपानेले ३४.२४ सेकेन्डका साथ कास्य जितिन्।
गौरिकाले अर्को स्वर्ण आठ सय मिटर फ्रिस्टायल रिलेबाट जितिन्। गौरिका, उपत्सी महर्जन, अनुसिया महर्जन र डुवाना लामाको आर्मीले ९ मिनेट २७.७३ सेकेन्डका साथ स्वर्ण जिते। यो स्पर्धामा नेपाल पुलिसले रजत र लुम्बिनीले कास्य जित्यो। यससँगै गौरिकाले जारी प्रतियोगितामा स्वर्ण संख्या ४ पुर्याइन।
जारी पौडीमा आर्मीले १६ स्वर्ण जितिसकेको छ भने एनआरएनएले ६ स्वर्ण हात पारेको छ। यस्तै एपिएफले ३ स्वर्ण जित्दा पुलिस र प्रदेश एकले एक एक स्वर्ण जितेका छन्।
जारी प्रतियोगिता गौरिकाले चार स्वर्ण जित्दा एनआरएनएकी एस्ले सापकोटा डंगोलले पाँच स्वर्ण जितिसकेकी छिन्।