गण्डकी प्रदेशमा हक्की खेलेका खेलाडीद्वय प्रेमा परियार र शिल्पा दंगौरालाई नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएको अनुभूत नै भएन। खेलको टाइसिट आइसकेपछि पनि समयमा खेल सुरू भएन। खेलमैदान तयार नहुँदा बिहान हुने भनिएको खेल बेलुकासम्म पर्खनुपर्यो।
‘टाइसिट आइसकेपछि खेल नखेली फर्कनुपर्यो,’ प्रेमाले भनिन्, ‘मानसिक रूपमा नराम्रो फिल भयो, राष्ट्रिय प्रतियोगिता समयमै हुनुपर्थ्यो।’
उनीहरूले खेल खेल्दासम्म आयोजकले खेलाडीलाई उपलब्ध गराउनुपर्ने खेल सामाग्री पनि उपलब्ध गराउन सकेन। आफैँले प्रयोग गर्दै आएको पुरानो खेल सामाग्री र अन्य खेलाडीसँग मागेर काम चलाएको उनीहरूले बताए। यतिसम्मकी खेलाडीले लगाउने जर्सीमा नम्बर र नाम लेखिएको थिएन। खेलाडीका साइज नमिल्ने जर्सी आयोजकले भिडाइदिए।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हक्की खेलमा देखिएको अव्यवस्था यतिमै सीमित थिएन। उपयुक्त खेलमैदान नहुँदा खेलाडी घाइते हुनुपर्ने अवस्था आएको खेलाडी शिल्पाले बताइन्।
‘मैदानमा उकालो-ओरालो छ, खेलाडी घाइते भएका छन्,’ उनले भनिन्, ‘राष्ट्रिय खेलकुद खेलेको अनुभूति नै भएन।
राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङमा सहभागी नेपाली सेनाका खेलाडी निसिम थापाको आइतबार निधन भयो। सराङकोटबाट उड्नेवित्तिकै निसिम ‘ग्लाइड कोल्याप्स’ भएर निर्माणाधीन अपार्टमेन्टमा बजारिन पुगेका थिए। उक्त घटना भएपछि मात्र राखेपले प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमतिसमेत नलिएको खुलेको छ।
हवाईसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्न प्राधिकरणसँग अनुमति लिनुपर्छ। प्राधिकरणले अनुमति दिएपछि मात्र यस्ता गतिविधि सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए। दुर्घटना भएपछि मात्र आफूहरूले राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ समावेश रहेको थाहा पाएको उनले बताए।
यतिसम्म गैरजिम्मेवार आयोजकले सरकारी प्रतियोगिता भएकाले सरकारी निकायसँग यसबारे अनुमति लिन नपरेको जिकीर गरेका छन्। राखेपका बोर्ड सदस्य अन्जन धमला मन्त्रिपरिषदले निर्णय गरेर आयोजना गरिएको प्रतियोगिता भएकाले अनुमति नलिएको हुन सक्ने बताए।
राष्ट्रिय खेलकुद सञ्चालनमा मात्र होइन ३ करोड खर्चेर गरिएको तामझामपूर्ण उद्घाटनमा पनि उस्तै अव्यवस्थित थियो। उद्घाटन समारोह चलिरहँदा पोखरा रंगशालाको प्यारापिट तलको महिला शौचालय बन्द थियो। पुरूष शौचालयमा महिला र पुरूष पालैपालो जानुपरेको थियो।
रंगीविरंगी लाइट र आतिसबाजी, सांस्कृतिक कार्यक्रमले उद्घाटन समारोह भब्य देखिए पनि प्रतियोगिताको समग्र व्यवस्थापनबाट कोही सन्तुष्ट देखिँदैनन्।
प्रतियोगिताको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, खेलकुद मन्त्री महेश्वरजंग गहतराज, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलगायत हजारौं खेलाडी र दर्शक उपस्थित थिए। तर गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ देखिएनन्।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक बजेट र समन्वय नगरेको भन्दै मन्त्री मनाङे असन्तुष्ट छन्। उनले गत भदौ १५ गते मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफू सहभागी नहुने बताएका थिए। उनले भनेका थिए, ‘यो राष्ट्रिय खेलकुद हुँदैन, हामीले मागेको एक रूपैयाँ पनि आएन, खेलाडीलाई डाइट त परको कुरा, खाजा खाने पैसासमेत छैन।’
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न ६० करोड रूपैयाँ विनियोजन गरेको छ। उक्त रकम प्रदेशमा नआएको भन्दै मन्त्री मनाङेले असन्तुष्टि मात्र जनाएनन्, उक्त बजेट खोजबिन गर्न समिति नै गठन गरेका छन्।
समितिमा दीपक गोदार, ओम बस्नेत, लक्ष्मण कुँवर, प्रंका बर्मा, मैनबहादुर गर्बुजा, सुजन आचार्य, सिद्धान्त अधिकारी, रामराज अधिकारी र धन बस्नेत छन्। अनुगमन समितिका नाममा उक्त समिति गठन गरेको भन्दै मन्त्री मनाङेले भने, ‘६० करोड रूपैयाँ कहाँ गयो, कसले खायो भनेर समितिले पत्ता लगाउँछ।’
प्रतियोगिता सञ्चालनबारे राष्ट्रिय खेलकुद परिषदले प्रदेशसँग समन्वय नगर्दा मन्त्री मनाङेले असन्तुष्टि जनाएका हुन्। परिषदले प्रदेशसँग मात्र होइन, अन्य विभिन्न खेलका विधागत संस्थासँग समेत समन्वय गर्न सकेन। जसका कारण विभिन्न खेलका संस्थाले प्रतियोगितालाई बहिष्कार गर्न पुगे।
पाँचौ राष्ट्रिय खेलकुददेखि आठौं खेलकुदसम्म कराँते प्रतियोगीता सञ्चालन गर्दै आएको फुल कन्ट्याक्ट कराँते महासंघले यसपालि प्रतियोगिता नै बहिष्कार गर्न पुगे। महासंघका अध्यक्ष शालिकराम कुँवरले महासंघमार्फत् प्रतियोगिता सञ्चालन गर्न, खेलाडी र रेफ्रीलाई सहभागी गराउन माग गरेका थिए।
खेलकुद मन्त्री गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर माग गर्दासमेत सुनुवाई नभएको महासंघका अध्यक्ष कुँवरले बताए। ‘हामीलाई यसपालि वास्ता गरेनन्, व्यक्तिगत हिसाबले कराँते खेलको जिम्मा दिए,’ उनले भने, ‘मन्त्री र सदस्य सचिवलाई भेटेर भन्दा पनि मानेनन्।’
कराँतेसम्बन्धी विभिन्न २२ वटा संस्था आवद्ध महासंघमार्फत् खेल्न तयार भएका खेलाडी र रेफ्री पनि राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको कुँवरले बताए। ‘हामीसँग ५३ जना खेलाडी थिए, सहभागी गराइदिनुस् भन्दा पनि मानेनन्,’ उनले भने।
प्रतियोगिता सञ्चालन गर्दा आवश्यक खेल मैदान, सामाग्री, खेलाडीका पोशाक र विजेता खेलाडीलाई वितरण गरिने मेडल पनि समयमा व्यवस्थापन हुन सकेको छैन। बिहीबार बिहान हक्की खेल सञ्चालन गर्ने कार्यतालिका थियो। खेल सुरू हुने समयसम्म राखेपले खेलमैदान तयार गर्न सकेन। खेलाडी खेलमैदानमा पुगेको ६ घण्टापछि मात्र हक्की खेल सुरू हुन पुग्यो।
खेल सुरू भइसक्दासम्म खेलाडीले पोशाक र खेल सामाग्री पाएनन्। नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले व्यवस्थापन समितिको कमजोरीका कारण खेलमैदान तयारीमा ढिलाइ हुन पुगेको बताए।
राखेपका सदस्य सचिव घिसिङले भने खेलमैदानको काम सकिए पनि थप राम्रो बनाउन लाग्दा ढिलाइ भएको दाबी गरेका छन्।
हक्कीको मात्र होइन, राष्ट्रिय खेलकुदलाई लक्ष्य गरेर पोखरामा एउटा पनि खेलमैदान तयार पारिएन। दक्षिण एसियाली खेलकुद प्रतियोगीता साग सञ्चालन गर्दा बनाएको संरचनामै अहिले राष्ट्रिय खेलकद प्रतियोगिता भइरहेको छ।
२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहमै नवौं खेलकुद प्रतियोगिता पोखरामा संचालन गर्ने घोषणा गरिएको थियो।
४ बर्षअघि नै पोखरामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय हुँदासमेत एउटा पनि नयाँ खेलस्थलको व्यवस्थापन गर्न नसकेको भन्दै राखेपको आलोचना भइरहेको छ।
पोखरा रंगशालामा सबै खेलका लागि आवश्यक संरचना बनाउन जग्गा छुट्याइएको छ। राष्ट्रिय खेलकुद सञ्चालन गर्न नयाँ संरचना थपिने विश्वास पोखराका खेलाडीले लिएका थिए। एउटा पनि संरचना बनाउन नसकेपछि राखेपले विभिन्न एकेडेमीको खेल पूर्वाधारको प्रयोग गरिरहेको छ।
हक्कीका लागि हेमजा र गण्डकी बोर्डिङ स्कुलको मैदान प्रयोग गरको छ भने स्विमिङका लागि फिष्टेल एकेडेमी, कबड्डीका लागि केसी पार्टी प्यालेस प्रयोग गरेको छ।
यस्तै कुस्ती खेल पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन गरिएको छ भने शारीरिक सुगठन पोखरा सभागृहमा, वेट लिफ्टिङ पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरेको छ।
फुटबल प्रतियोगीताका लागि समेत पर्याप्त संरचना नभएपछि राखेपले पोखराको गोष्ठेघाट र लामाचौरमा प्रतियोगिता सञ्चालन गरेको छ। गण्डकीका अन्य जिल्लामा सञ्चालन गरिएका प्रतियोगिताका लागि पनि पर्याप्त खेलस्थल निर्माण हुन सकेन।
पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको निर्णय भएदेखि नै आवश्यक संरचना बनाउन पर्याप्त बजेट नपाएको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरूङले बताए।
‘पोखरामा १३ औं सागकै संरचना छ भनेर माग गरिएजति बजेट पाइएन,’ उनले भने, ‘हामीले खेलस्थलका लागि ७ करोड माग गरेका थियौं, १ करोड मात्र दियो, त्यसले कति काम गर्न सकिन्छ र!’
खेलस्थल निर्माण गर्न गण्डकीका अन्य जिल्लामा पनि त्यही १ करोड बजेटबाट पठाएको गुरूङले बताए। राखेपका सदस्यसमेत रहेका गुरूङले उक्त बजेटबाट बक्सिङका लागि नयाँ संरचना बनाएको, टेनिस कोर्टलगायत पुराना संरचनाका मर्मत, जिल्लाका खेलस्थल निर्माण लगायतका काम गरेको बताए।
राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ वटा प्रदेशबाट ७ टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी र एनआरएन गरी ११ टिम प्रतिस्पर्धामा छन्। यी ११ टिमबाट ३६ खेलका लागि ६ हजार १०२ जना खेलाडी प्रतियोगीतामा सहभागी छन्।
प्रतियोगीतालाई व्यवस्थित पार्न आवश्यक खेलमैदानदेखि खेल सामाग्री र पोशाकसमेत समयमा उपलब्ध गराउन खेलकुद मन्त्री गहतराज र सदस्य सचिव घिसिङले वास्ता गरेका छैनन्। खेलकुद मन्त्री गहतराजले त वितरण भइसकेको पदक फिर्ता मागेर आफ्नो हातबाट वितरणसमेत गरेका थिए।
गत बुधबार भएको फेन्सिङ प्रतियोगिताका विजेता खेलाडीलाई साँझपख पदक वितरण गरिएको थियो। त्यही बेला मन्त्री गहतराज प्रतियोगीता भएको ठाउँमा पुगे। विजेता खेलाडीलाई वितरण गरेको पदक फिर्ता मागेर फेरि आफ्नो हातबाट वितरण गरे।
विजेता खेलाडीलाई वितरण गरिएको पदक अपुग भएकाले फिर्ता मागेको आयोजकले जनाए पनि फोटो सेसन गर्न खेलाडीसँग फिर्ता मागेर पुन: वितरण गरिएको हो।
नेपाल फेन्सिङ महासंघका महासचिव सुजनलाल श्रेष्ठले अपुग पदक पर्खिरहेका बेला अचानक मन्त्री आएपछि पदक फिर्ता गरेको बताए।
नवौं राष्ट्रिय खेलकुदमा देखिएको भद्रगोल सामान्य मानवीय कमजोरी मात्र भएको राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमला दाबी गर्छन्। ‘खेल सामाग्री र खेलमैदानको अभावले कुनै खेल रोकिएका छैनन्। सबै समस्या सेटल भइसक्यो,’ उनले भने।