नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ। ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो।
दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २-२ स्वर्ण जितेको हो। नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ। पुलिसका महिला खेलाडीले १ र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन्।
८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन्। नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन्।
९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन्। नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले कास्यमा चित्त बुझाए।
१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन्। उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए। नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य प्राप्त गर्न सफल भएका छन्।
१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन्। आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले कास्यमा चित्त बुझाए।
७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन्। पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन्। नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक प्राप्त गरेका छन्।
७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन्। लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले कास्य जितेका छन्।
७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन्। नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले कास्यमा चित्त बुझाए।
मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो। नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए। कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ। किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ।
हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ। पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य प्राप्त गरेको छ। वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो। लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ। मधेशले १ रजत र २ कास्य जितेको छ। एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २÷२ कास्य जित्दा कर्णाली र एनआरएनएले १-१ कास्यमा चित्त बुझायो। घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन्।