२०४४ साल फागुन २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घटेको भयानक दुर्घटनालाई नेपाली खेलकुदको 'कालो दिन' भन्ने गरिन्छ। ।
दुर्घटना भएको आज ३४ वर्ष पूरा भएको छ।
दुर्घटनाको प्रत्यक्षदर्शी मध्येका एक अनिल रूपाखेतीसँग केही वर्षअघि कुराकानी भएको थियो। उनले त्यो दुर्घटना अघिको पृष्ठभूमी र दुर्घटनापछिको वातावरणको विषयमा सविस्तार चर्चा गरेका थिए।
रूपाखेती जनकपुर चुरोट कारखाना (जचुका) टिमका स्ट्राइकर थिए।
२०४४ फागुन २९ गते उनी त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल खेल्न दिउँसो साढे एक बजे काठमाडौंको भोटेबहालस्थित कालीगण्डकी होटलबाट दशरथ रंगशाला गइरहेका थिए। उनको मनमा एउटै डरले डेरा जमाएको थियो– के हामीले बंगलादेशको मुक्ति जोधा क्लबलाई हराएर देशभरबाट रंगशालामा जम्मा भएका आफ्ना समर्थकलाई उत्साहित पार्न सकौंला?
त्यतिबेला नेपालको अर्को बलियो क्लब रोयल नेपाल एयरलाइन्स (आरएनएसी) लाई सेमिफाइनलमा हराएर फाइनल पुगेको थियो, जचुका।
त्यसैले फाइनल खेल हेर्न काठमाडौंका रैथाने दर्शक मात्र होइन, जनकपुरदेखि वीरगञ्ज, विराटनगर हुँदै बुटवलसम्मका करिब ३० हजार दर्शक रंगशाला ओइरिएका थिए। आकाशमा बादल चलायमान थियो। फाइनल खेल्ने दुवै टोली दिउँसो २ बजे नै ‘वार्मअप’का लागि मैदान प्रवेश गरिसकेका थिए।
फिफा रेफ्री रोशन श्रेष्ठले ठीक २ बजेर ३० मिनेटमा फाइनल खेल सुरू भएको जनाउ दिन जब सिठी बजाए, अनिल आफ्ना कप्तान रामराज सिंहसँग बंगाली क्लबको सेखी झार्न फरवार्ड लाइनमा तैनाथ भए। उनलाई मिडफिल्डमा सहयोग गरिरहेका थिए, गणेश पाण्डे, जीवन लामा र ललित थापाले।
डिफेन्समा पुष्प केसी, इन्दु रसाइली, देवेन्द्र बस्नेत र राजेश थापाको सहयोग उत्तिकै थियो। तर, खेलको १७ मिनेटमा उत्तरपट्टि (टुँडिखेलतर्फ) जचुकाका गोलकिपर सुनिल गिरीलाई छक्याउँदै बंगाली मुक्ति जोधा क्लबले गोल हान्यो। प्याराफिटका सारा समर्थक स्तब्ध भए।
त्यतिबेला दशरथ रंगशालाबाहिर ठूलो भीड थियो, थुप्रै समर्थक टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न रस्साकस्सी गर्दै थिए। गेटमा तैनाथ सुरक्षाकर्मी फुटबल संघका पदाधिकारीसँग टिकट जँचाउँदै दर्शकलाई भित्र पठाउँदै थिए।
सुरुमै एक गोलले पछाडि पर्नुपरेपछि अलिकति खुम्चेका अनिल खेलमा सन्तुलन मिलाउन साथीहरूलाई हौस्याइरहेका थिए।
त्यसको दुई मिनेटपछि नै उनको सातोपुत्लो उड्यो। खेलको १९ मिनेटमा उनी बंगलादेशको हाफमा बसेर गोलको सम्भावित मौका कुरिरहेका थिए, यति ठूलो हावाहुन्डरी आयो, उनले आर्मी हेडक्वार्टर (उत्तरपट्टि) बाट रुखका ठूल्ठूला हाँगा आकाशमा उडेर आफूतर्फ आइरहेको देखे।
‘जीवनमा यति भंयकर हवाहुन्डरीको सामना गरेको छैन। मैले रुखका हाँगा आफूतर्फ आइरहेको मात्र देखेँ। त्यसपछि एक्कासि मुसलधारे पानी पर्यो। अनि असिनापानी’, तीन दशक पुरानो घटना उनले यसरी सम्झिएका थिए।
त्यतिबेला ज्यान जोगाउन अनिलसहित सबै खेलाडी भिआइपी बसेको प्याराफिटमुनि ओत लागेका थिए। त्यसपछि मात्र उनले आवाज सुने– ल मान्छे मर्यो!
ठूलो हल्लाखल्ला सुनेपछि उनले दक्षिणतर्फ आँखा घुमाए। हावाहुन्डरीले भागाभाग गर्ने क्रममा थुप्रै मान्छे किचिइसकेका रहेछन्। पछि रेडियो नेपालको समाचार सुनेपछि अनिलले थाहा पाए, करिब पाँच मिनेट आएको हवाहुन्डरीले ९३ जनाको ज्यान लिएछ।
घटना हुँदा दर्शक फ्याराफिटभित्र प्रवेश गर्ने क्रम जारी थियो। एक्कासी हावाहुन्डरी आएपछि प्याराफिट तल बसेका मान्छे पनि सुरक्षा खोज्दै माथि जाने क्रम बढ्यो। दर्शक तल ओर्लिने र माथि जाने क्रममा धक्कामुक्की हुँदा लडेर एकअर्कामाथि खप्टिन पुगे। यसैमा च्यापिएर धेरैको मृत्यु भयो।
प्याराफिटको भर्याङमा प्वाल हुँदा पनि समस्या भएको थियो। त्यो प्वालमा खुट्टा अड्किएर पनि धेरै जना लडेका थिए।
घटनापछि वीर अस्पतालमा अत्यधिक चाप थियो। डेढ सयभन्दा बढी मान्छे वीर अस्पताल भर्ना भएका थिए।
घटना हुँदा रंगशालाको चारैतर्फको ढोका खुला गर्न आयोजक असमर्थ भएका थिए। लामो समय रंगशालाको ढोका फलामको चेनले बाँधेर राख्दा ताल्चामा खिया लागेर खोल्न गाह्रो परेको थियो। ताल्चाको साँचो पनि पालेसँग हुने भएकाले तत्काल ढोका खोल्न आयोजकलाई हम्मे–हम्मे परेको थियो।
नेपालका मात्र होइन, बंगलादेशी खेलाडी पनि हावाहुन्डरी नरोकिउन्जेल प्याराफिटमुनि नै बसे।
पुलिसको सुरक्षा घेराबीच बंगाली खेलाडीलाई होटलतर्फ लगियो। जचुकाका खेलाडी भने डराईडराई आफ्नो जर्सी खोलेर लुकाउँदै भोटेबहालस्थित होटल पुगे।
‘त्यतिबेला धेरैले हामीलाई सराप्न थालिसकेका थिए। यस्तो घटना जचुकाले गर्दा भएको भन्ने आरोप लाग्न थालेपछि जर्सी लुकाउनुपर्यो’, अनिलले भनेका थिए। उनीहरू आफ्नो गाउँठाउँबाट आएका साथीभाइ पनि घटनामा परे कि भनेर खोज्न त्यसै दिन वीर अस्पताल पुगेका थिए। तर, जर्सी लुकाएर।
‘कसैले आएर हिर्काउँछन् कि भनेर २ दिन डरले होटलको कोठामा थुनिएर बस्यौं’, अनिलको भनाइ थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो। तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो।
घटनाको छानबिन गर्न लम्साल आयोग गठन भयो। तीन महिनापछि आयोगले आफ्नो रिपोर्ट बुझायो– दशरथ रंगशाला काण्डमा व्यवस्थापनको कमजोरी भन्न नमिल्ने, तर २१औं शताब्दी अनुरूपको रंगशाला हुनुपर्ने अस्पष्ट कुरासहित।
यो घटनाका कारण राष्ट्रिय खेलुकद परिषद्का सदस्य–सचिव शरदचन्द्र शाहमाथि यति धेरै दबाव पर्यो, उनी पदबाट राजीनामा दिन बाध्य भए।
तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले भने घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्रसामु राजीनामा बुझाए।
हावाहुन्डरी आउने दिन विष्ट ललितपुरस्थित लामाटार गाविसमा बनेको स्कुलको कार्यक्रममा सहभागी हुन गएका थिए। बीच बाटोमै पुगेपछि हुन्डरी आयो र उनी कार्यक्रममा सहभागी हुन सकेनन्। बाटोमा रुख ढलेका कारण उनलाई काठमाडौ फर्किन गाह्रो पर्यो। साँझ मात्र उनले थाहा पाए, रंगशाला काण्डमा धेरैको ज्यान गएको कुरा।
घटनाको दिन शरदचन्द्र शाह पनि मनकामना मन्दिर गएका थिए। उनले साँझ फर्किएपछि मात्र घटनाबारे थाहा पाए।
घटनाका बेला प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै त्यतिबेला राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर अशोक केसी र एन्फा उपाध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठलाई सरकारले ५–५ हजार रूपैयाँसहित सम्मान गर्ने भनेको थियो।
दुर्घटनाको विषयमा गोरखापत्रमा छापिएको समाचार