उकालो ओरालो गर्दै झण्डै १७ सय किलोमिटर दूरीको ग्रेट हिमालयन ट्रेललाई लामो र साहसिक पदमार्ग मानिन्छ। पूर्वको कञ्चनजंघादेखि पश्चिमको हुम्ला (हिल्सा) सम्मको यो मार्ग हिँडेर छिचोल्नै चुनौतीपूर्ण छ। माउन्टेन बाइकर मंगलकृष्ण लामाले भने साइकलमा यो दूरी पार गरेका छन्, ८८ दिन लगाएर।
यात्रा सकेर यसै साता फर्किएका उनले सेतोपाटीसँग भने, ‘मलाई अरूभन्दा फरक तरिकाले यो मार्गमा यात्रा गर्नु थियो। त्यही भएकाले साइकलमा यात्रा गरेर रेकर्ड राख्ने सोच बनाए। धेरैले यहाँ हिँडेर यात्रा गरेका छन्। कतिले एकपटक एउटा भाग, अर्कोपटक अर्को भाग गर्दै किस्ता-किस्तामा यात्रा गरेका छन्। एकैपटक गर्ने भने म नै पहिलो व्यक्ति हो।’
ककनीको एक किसान परिवारमा जन्मे-हुर्केका मंगलले ग्रेट हिमालयन ट्रेलको सपनासम्म पुग्न लामै यात्रा गरेका छन्। साइकल यात्रा गर्दै ककनीमा पर्यटकहरू आउँदा उनले सानोमा साइकल गाइड बन्छु भन्ने सोचेका थिए। तर कसरी बन्ने उनलाई थाहा थिएन।
त्यही सपना पूरा गर्ने लोभमा १७ वर्षअघि उनले काठमाडौंको एक साइकल पसलमा मेकानिकको रूपमा काम गरे। चार महिना सित्तैमा साइकल पुसे, बिग्रिएका साइकल बनाए। साँहुले दिएको सामान्य साइकलमा उनी घरदेखि काम गर्ने ठाउँसम्म आउँथे। त्यही बेला उनले साइकल रेसबारे सुने।
आफूसँग सामान्य साइकल भएकाले त्यसमा सहभागी हुन र अभ्यास गर्न सम्भव थिएन।
तर उनले उपाय निकाले।
‘साइकल वर्कसपको चाबी मसँग हुन्थ्यो। मैले नै पसल खोल्ने भएकाले म समयभन्दा छिट्टै पुग्थे र दुई-तीन घण्टा साइकलमा यात्रा गरेपछि पुसेर जस्ताको त्यस्तै राखिदिन्थे,’ उनले हाँस्दै भने, ‘साहुलाई त्यसरी मैले साइकल चलाएको कहिले पनि थाहा भएन।’
त्यसरी साइकल पसलमा काम गरेको दुई वर्षपछि सन् २००७ मा मंगल पहिलोपटक साइकल रेसका लागि सिक्किम पुगे। साइकल किन्न बुवा, दाइ र साथीहरूले सहयोग गरेका थिए। रेसमा जितेपछि सबैको पैसा फिर्ता गरिदिए।
त्यसयता उनले साइकल रेसलाई निरन्तरता दिए। रेसका लागि नेपालबाहेक मलेसिया, चीन, सिंगापुर लगायत देश पुगे। त्यससँगै साइकल गाइड भएर विभिन्न ठाउँ पुगेका छन्।
करिब डेढ दशक साइकलसँग संगत भइसकेपछि एकदिन मंगललाई ग्रेट हिमालयन ट्रेल यात्रामा साइकल कुदाउने सोच आयो।
साइकल यात्रामा जाने सबै तयारीपछि करिब एक हप्ताअघि मात्र उनले परिवारलाई यसबारे खबर दिएका थिए। यस यात्राको जोखिमबारे थाहा पाएपछि उनलाई परिवारले नजान सल्लाह दियो। धेरै साथी र आफन्तहरूले पनि उनलाई त्यस्तै सल्लाह दिएका थिए। तर उनी आफ्नो निर्णयमा अडिग थिए।
‘मैले योजना बनाएको धेरै भइसकेको थियो। त्यही भएकाले मैले कसैको सुनिनँ। म आफ्नै ढिटले हिँडेको थिएँ,’ उनले भने।
आफ्नै ढिटले हिँडेका मंगलका अगाडि धेरै अप्ठ्यारा थिए। उनले यात्रा गरेका धेरै बाटो उच्च भेगका थिए। ती क्षेत्रले नेपालसहित चीनको तिब्बत, भुटान, पाकिस्तान र भारत छुन्थे। यात्राक्रममा उनी धेरैजसो चिया पसलमा बसे, कहिले क्याम्प बनाएर त कहिले गोठहरूमा सुते।
कहिले हिँउ परेर, कहिले हुस्सु लागेर त कहिले जंगलमा हराएर उनको यात्रामा समस्या आयो।
‘कहिले ढुंगाहरू बुरूरू झर्ने ठाउँबाट साइकल लग्नुपर्थ्यो त कहिले हिमनदीको सामना गर्नुपर्थ्यो। एक ठाउँमा त डोरी लगाएर आफू अनि साइकललाई तान्नुपरेको थियो। यस्ता यावत कारणले यात्रा चुनौतीपूर्ण थियो,’ उनले भने।
जंगलै-जंगल, हिमालै-हिमालको बाटोमा उनलाई डर जंगली जनावरको पनि थियो।
‘बाँदर, मृग र निलगाई प्रशस्तै देखेँ। कञ्चनजंगा बेस क्याम्प जानेबेला लोनाक भन्ने ठाउँमा हिउँ चितुवाको आवाज सुनेको थिएँ,’ उनले भने, ‘भर्खर निगालो उम्रने समय भएकाले मान्छेहरूले जंगलतिर भालु आउँछ भनेका थिए। तर देख्न चाहिँ देखिनँ। डर भने निकै लागिरहेको थियो।’
त्यो डरबाहेक उनलाई यात्रा पूरा गर्न सक्दिन कि भन्ने डर पनि थियो। कहिलेकाहीँ कुनै रूटमा हराउँदा वा समस्यामा पर्दा उनकाे दिमागमा सोच आउँथ्यो, ‘म उतै काम गरे पनि मजाले बस्न सक्थेँ। किन यसरी आएको होला? किन यसरी दुःख गरिरहेको होला?’
त्यस्तो बेला उनलाई परिवार र साथीहरूको धेरै याद आउँथ्यो। फर्किएर जाऊँ कि भन्ने सोच पनि आउँथ्यो। तर उनी यो यात्रा किन महत्वपूर्ण छ भनेर आफूले आफैंलाई सम्झाउँथे।
साथीभाइ र परिवारले पनि उनलाई हौसला दिन्थे, ‘तिमीले यति गाह्रो बाटो त पार गरिसक्यौ। अबको बाटो त्यति गाह्रो पनि छैन।’
यसरी आफू र आफ्नाहरूको हौसला बोकेर उनी अगाडि बढे।
६१९० मिटरमा रहेको वेस्ट कोल भन्ने ठाउँमा पुगेपछि उनको यात्रामा अर्को चुनौती थपियो। त्यहाँ हिमाल चढ्ने उपकरणहरू लगाएर जानुपर्ने भएकाले उनले भरिया र गाइड लगेका थिए।
तर एउटा दुर्घटनामा उनको खाना, स्लिपिङ ब्याग, जुत्ताहरू सबै भीरबाट झर्यो। त्यसपछि उनी अगाडि बढ्न सकेनन्। सामान किनेर फेरि यात्रा सुरू गर्न उनी काठमाडौं आए। त्यसले उनको यात्रा अवधि लम्बायो।
हुम्लाको हिल्साको अन्तिम विन्दुमा मंगल असार ३२ गते साँझ ८ बजेर १२ मिनेटमा पुगेका थिए। त्यो रात उनले एउटा भट्टीमा बिताए। त्यहाँ पुग्दा आफूले यात्रा अगाडि भोगेका सबै दुःख बिर्सिएर आनन्दको अनुभूति गरेको उनी बताउँछन्।
भोलिपल्ट बिहानको पहिलो झलक लिन उनी भट्टी अगाडिको डाँडामा उभिएका थिए। त्यति बेला उनले नेपालको गरिबीलाई नजिकबाट महसुस गरे।
‘बोर्डर पारि पूरै झिलिमिलि थियो, नेपाल पूरै अँध्यारो। उता चिल्लो सडक थियो। यता भने खाल्डैखाल्डा। नेपाल कस्तो गरिब छ भन्ने आभाष भयो,’ उनले भने।
उनले आफ्नो यात्रामार्फत नेपालको पर्यटनमा मद्दत पुग्ने आशा राखेका छन्। ग्रेट हिमालयन ट्रेलको प्रवर्द्धन भए यस रूटमा बस्ने मान्छेहरूको आर्थिक अवस्था सुधार्न सहयोग पुग्छ। तर यो मार्गमा बाटोहरूको राम्रो नक्सांकन नभएको, राम्रो बस्ने सुविधा नभएकाले सरकारले काम गर्ने ठाउँ धेरै भएको उनी बताउँछन्।
मंगल आफूले गरेको यस यात्राको किताब र डकुमेन्ट्री निकाल्ने तयारीमा छन्। त्योसँगै आफ्नो रेकर्डलाई गिनिज बुकमा नाम लेख्ने प्रयासमा छन्।
यो ट्रेलको यात्राले आफूलाई धेरै कुरा सिकाएको बताउँदै उनले भने, ‘म कति ठाउँ हराएँ, कति चिसो ठाउँमा रात कटाएँ। प्रकृति मान्छेसँग कसरी घुलमिल हुने, आफूलाई कसरी प्रेरणा दिने भन्ने कुरा सिकेँ। यो यात्राले मलाई के आत्मविश्वास दियो भने अब म संसारको जुनै कष्टकर ठाउँमा पनि संघर्ष गरेर बाँच्न सक्छु।’
उनले आफूजस्तै यस्तो यात्रामा जान चाहने मान्छेलाई पनि भने, ‘एकदम गाह्रो हुन्छ। तर त्यहाँको मान्छे, संस्कृतिमा रम्न यो एकदम राम्रो ट्रेल हो। यस्ता यात्राले धेरै कुरा सिकिन्छ।’
भिडियो :-