धनगढीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित खप्तड गोल्डकप फुटबल प्रतियोगितामा पोखरामाथि विभागीय टोली एपीएफले संघर्षपूर्ण जित दर्ता गरेको छ।
एपीएफले सहारा युवा क्लब पोखरालाई ट्राईबेकरमा ५–४ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो। क्षेत्रीय रङ्गशालामा शनिबार निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय ट्राईबेकरबाट लिइएको थियो।
एपीएफका लागि अञ्जन बिष्ट, सुदीप शिल्पकार, आदित्य चौधरी, राजु नगरकोटी र रञ्जन बिष्टले गोल गरे। एपिएफका गोल रक्षक राजु नगरकोटीले सहाराका लक्ष्मण जिसीको प्रहारलाई रोके पछि पोखरा पहिलो खेलबाटै घर फर्किएको हो।
म्यान अफ द म्याचसमेत भएकानगरकोटीले खेल दौरान थप केही पोखराका कडा प्रहा बिफल बनाएका थिए। सहाराका लागि सुशन गुरुङ, विजय श्रेष्ठ, मानबहादुर तामाङ, फुर्वा लामाले गोल गरे पनि टिमलाई हारबाट बचाउन सकेनन्।
यसअघि, दुवै टिमले निकै प्रतिस्पर्धात्मक खेल खेलेका थिए। खेलको पहिलो हाफमा एपीएफका खेलाडीले सहाराका खेलाडीलाई डी बक्समा लडाएपछि रेफ्रीले पेनाल्टी प्रहारको अवसर दिएका थिए। तर, सहाराले उक्त अवसरलाई गोलमा परिणत गर्न सकेन। गोल गर्ने अवसर पाएका विनोद गुरुङको प्रहार गोलपोष्ट भन्दा बाहिर गएको थियो।
यसैगरी, स्टार खेलाडीले भरिएको एपीएफको केही कडा प्रहार सहाराका गोलकिपरले गोल हुनबाट बचाएका थिए। खेलको पहिलो हाफमा एपीएफले सहारालाई दबावमा राखेको थियो। दोस्रो हाफपछि सहाराको खेलमा सुधार देखिएको थियो।
पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नुले नै ट्राईबेकरमा हार स्वीकार गर्नुपरेको सहाराका प्रशिक्षक किरण श्रेष्ठले बताए। एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलमा आफ्नो खेलाडीहरुको तालमेल नमिलेको बताए।
भोलि धरान युवा क्लब र संकटा युवा क्लब काठमाडौंबीच खेल हुने आयोजकले जानकारी दिएको छ।