सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र र एफसी खुमलटारबीचको खेलमा १० गोल भएको छ।
च्यासल मैदानमा भएको खेलमा मछिन्द्र ७-३ गोलले विजयी भयो।
मछिन्द्रको जितमा ओलावाले अफिजले ह्याट्रिकसहित पाँच गोल गरे। ओलावाले सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।
ओलावालेले खेलको २४ र २८ मिनेटमा गरी चार मिनेटको अन्तरमा दुई गोल गरे। उनले ५५ मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे।
उनले ६२ र ६७ मिनेटमा थप गोल गर्दै खेलमा पाँच गोल गर्न सफल भए।
खेलमा मछिन्द्रका लागि थप गोल विमल घर्तिमगरले पहिलो हाफको इन्जुरी टाइममा तथा विजय भूजेलले ८६ मिनेटमा गरे।
खुमलटारका लागि मेसउकेले ६० र ८१ मिनेटमा गरी दुई गोल गरे। यस्तै स्टेफिन समिरले ७५ मिनेटमा पेनाल्टीबाट गोल गोल गरे।
जितसँगै साविक विजेता मछिन्द्र १२ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। खुमलटार ७ अंकसहित दशौं स्थानमा छ।
यता एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई ३-१ गोलले पराजित गरेको छ।
आर्मीका लागि जिलेस्पी कार्कीले १७ मिनेटमा पहिलो गोल गरे। ५५ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे।
जावलाखेलका सुनील खड्काले ६२ मिनेटमा गोल फर्काएका थिए। तर आर्मीका सुदिल राईले ८० मिनेटमा तेस्रो गोल गर्दै आफ्नो टिमलाई जिततर्फ अघि बढाए।
जितसँगै १२ अंक बटुलेको आर्मी पाँचौ स्थानमा पुगेको छ। जावलाखेल १४ अंकसहित दोस्रो स्थानमा छ।