नेपाल पुलिस क्लब तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार घरेलु टोली विजय युथ क्लबको चुनौती ३-० ले पन्छाउँदै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो।
पुलिसको जितमा अभिशेक रिजाल र रवि पासवानले गोल गरे।
खेलको ११औं मिनेटमा रिजालले गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाए। ४०औं मिनेटमा रिजालले नै गोल गर्दै पुलिसको अग्रता पहिलो हाफमा २-० मा पुर्याए।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको घरेलु टोलीमाथि रवि पासवानले ५९औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता ३-० मा पुर्याए।
यसअघि हिजो उद्घाटन खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरिसकेको छ।
प्रतियोगितामा मनाङ, सशस्त्रसहित संकटा क्लब, थ्रीस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौंडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरी ८ टिमको सहभागिता छ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।