भारतको सिक्किम आक्रमण टोलीले ‘एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ।
झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।
पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल गर्यो भने बेलबारीले एक गोल मात्र थप्यो। बेलवारीका लागि किरण लिम्बूले गोल गरेका थिए।
पहिलो हाफमा सामान्य खेल प्रदर्शन गरेको सिक्किमले दोस्रो हाफको समयपछि केही फरक समयमा तीन गोल गर्न सफल रह्यो।
सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याए।
त्यसको तीन मिनेट नबित्दै राईले नै थप गोल गरेर अग्रता दोब्बर बनाए। उनले हेडमार्फत गोल गरेका थिए।
खेलको २–१ नतिजालाई बराबरीमा पु¥याउन बेलबारी एफसीका भुषण लिम्बू सफल भए। उनले २६ औँ मिनेटमा वान टच बललाई सिधैँ गोलपोष्टको दिशा दिएका थिए। पहिलो बार च्यापेका भुषणको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन सकेनन्।
सिक्किमलाई सेमिफाइनल पुर्याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो। उनले दोस्रो हाफको ३५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जीत नजिक पुगेको मोरङ पहिलो खेलबाटै बाहिरिएको छ।
खेलको म्यान अफ दी म्याच सिक्किमका रोहन राई घोषित भए। उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कारस्वरुप नगद १० हजार प्रदान गरे।
जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन्। मङ्गलबार नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।
(रासस)