४-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै ईङ्लिश क्लब चेल्सीले च्याम्पियन्स लिगमा डच क्लब आयाक्ससँग ४-४ को बराबरी गरेको छ।
मंगलबार राति भएको समूह'एच' अन्तरगतको खेलमा चेल्सीले घरेलु मैदानमा दोश्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आफूलाई हारबाट जोगाउन सफल भयो।
सो खेलमा आयाक्सले दोश्रो मिनेटमा नै अग्रता लिएको थियो। टम्मी अब्राहमको गोलमा अग्रता लिएको आयाक्सलाई चेल्सीले चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरेको थियो।
जर्गिन्होको गोलमा बराबरी भएपछि आयाक्सले २० औं मिनेटमा हाकिमी जियाचको गोलमा पुनः अग्रता लियो। त्यसपछि ३५ औं मिनेटमा चेल्सीका गोलरक्षक किपा अरिजाबालगाले आत्मघाती गोल गरेपछि आयाक्स ३-१ को नतिजामा पुग्यो।
५५ औं मिनेटमा आयाक्सका लागि डोनी भान डि बिकले टोलीका लागि चौथो गोल गरेपछि चेल्सी घरेलु मैदानमा कठिन अवस्थामा पुग्यो।
तर उसले सो अवस्थालाई चिर्दै बराबरीमा खेल सक्ने क्रममा ६३, ७१ तथा ७४ औं मिनेटमा गोल गर्दै नतिजालाई ४-४ को अवस्थामा समापन गर्यो। ती गोलहरू क्रमशः सेजर, जर्गिन्हो र जेम्सले गरेका हुन्। जर्गिन्होले पेनाल्टीमा गोल गरेका हुन्।
हिजोको खेलमा दुई मिनेटको अन्तरालमा आयाक्सका दुई खेलाडी दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनुपरेपछि ९ खेलाडीमा सिमित भएको थियो। यस अवस्थाले गर्दा चेल्सीलाई खेलमा फर्किन सहज अवस्थाको सिर्जना भयो।
आयाक्सका डाले ब्लिन्ड र जोयल भेल्टम्यान क्रमशः ६९ र ६९ औं मिनेटमा मैदानबाट बाहिरिनुपरेको थियो।