स्पेनिस ला लिगामा लियोनेल मेसीकोले आफ्नो गोल संख्यालाई ५० पुर्याएका छन्।
शनिबार राति बार्सिलोनाले एलाभेसलाई ४-१ ले हराएको खेलमा मेस्सीले यो वर्षको ५० औं गोल पुरा गरेका हुन्।
मेसीले खेलको ७९ औं मिनेटमा गोल गर्दै आफ्नो यो वर्षको गोल संख्यालाई ५० पुर्याएका हुन्।
जितसँगै घरेलु मैदानमा अपराजित बार्सिलोनाले आफ्नो निकट प्रतिष्पर्धी रियल मड्रिडसँग लिगमा तीन अंकको स्पष्ट दुरी कायम गरेको छ।
बार्सिलोनाको यस जितमा लुइस स्वारेजले प्रभावशाली प्रदर्शन गरे। उनले बार्सिलोनालाई तीन गोल गर्न सहयोग गर्नुका साथै एक गोलसमेत गरे।
जितसँगै बार्सिलोना १८ खेलबाट ३९ अंकसहित लिगको शीर्षमा यथावत बनेको छ।
खेलमा बार्सिलोनाले एन्टोनी ग्रिजम्यानको गोलमा १४ औं मिनेटमा अग्रता कायम गरेको थियो। सो अग्रतालाई अटुरो भिषालले खेलको ४५ औं मिनेटमा दोब्बर पारे।
त्यसपछि एलाभेसका पोन्सले हेडमार्फत खेलको ५६ औं मिनेटमा गोल फर्काए।
७५ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो। त्यसलाई लुइस स्वारेजले गोलमा परिणत गरे।