शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ।
न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो।
मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको थियो। दोस्रो हाफमा मनाङले थप दुई गोल गर्यो। एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो। मनाङ मस्र्याङ्दीका विमल रानाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरे। अञ्जन विष्टले खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरे।
यस्तै खेलको ६५औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पुर्याए। खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गरे।
यस्तै खेलको अतिरिक्त समयमा मनाङ मस्र्याङ्दीका दयानन्द सिंहले चौथो गोल गरे। जितसँगै मनाङ मस्र्याङ्दी २२ अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको हो। न्यूरोड १५ अंकका साथ लिगको आठौं स्थानमा छ। त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा छ।