दुई वर्षअघि शिलान्यास भएको दाङको बेलझुण्डी रंगशाला तयार भएको छ।
तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीमा रहेको यो रंगशाला २४ करोड २४ रुपैयाँ लाख बढी लागतमा निर्माण भएको हो।
दिवा एमए प्रतिष्ठा जेभिले यो रंगशाला निर्माणको जिम्मा पाएको भएपनि काम भने एमए कनष्ट्रक्सनले गरेको हो।
निर्माण कम्पनीका प्रतिनिधि प्रकाश पोखरेलका अनुसार रंगशाला निर्माणको काम ९८ प्रतिशत पूरा भइसकेको छ। अब भिआइपी प्यारापिटभित्र थोरै टायल लगाउन, बाथरुम फिटिङ, बिजुली र रंग रोगनको काम मात्रै बाँकी रहेको छ।
ती सबै काम केही दिनमै पूरा हुने पोखरेलले जानकरी दिए। ‘हामीले फटाफट काम गर्न पायौ भने भदौ महिनाभन्दा बढी समय लाग्दैन,’ सापकोटाले भने ‘हामी जति सक्दो छिटो काम टुङ्गाएर रंगशाला हस्तान्तरण गर्न आतुर छौं।’
रंगशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्र्याक पनि निर्माण गरिएको छ। नेपालमा दशरथ रंगशाला र पोखरा रंगशालासँगै सेन्थेटिक ट्र्याक भएको रंगशाला बेलझुण्डी रंगशाला पनि हो। पोखरामा सेन्थेटिक ट्र्याकसहितको रंगशाला पनि दाङमै रंगशाला निर्माण गरेको निर्माण कम्पनीले नै निर्माण गरेको हो।
भिआइपी प्यारापिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फरेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ। रंगशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्यारापिटमा ४ सय १२ सिट छन्। रंगशालाको पूर्वी भागमा भने दर्शकका लागि साधारण प्यारापिट निर्माण गरिएको छ।
भिआइपी प्यारापिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिटहरु मलेसियाबाट ल्याइएको सापकोटाले जानकारी दिए। जडान गर्न फ्रान्सका कालिगढ ल्याइएका थिए। रंगशाला वरिपरी लगाइएको तारबार पनि विदेशबाटै ल्याइएको उनले बताए।
रंगशालाका इञ्जिनियर आशकुमार राईले लगभग २ सय ५० स्क्वाएर मिटरमा रंगशाला निर्माण भएको जानकारी दिए।
फुटबल मैदान फिफा मापदण्डअनुसार निर्माण गरिएको छ। फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ। यो दुबो कोलकताबाट ल्याएर रोपिएको हो।
बीचमा हरियो दुबो र वरिपरी गुलाबी रंगको सेन्थेटिक ट्रयाकले जो कोहीको मन लोभ्याउँछ।
मैदानको वरिपरी गर्मी दिनमा दुबोमा पानी हाल्नको सात वटा च्याम्बरहरू राखिएको छ। जसका लागि नजिकै एक लाख लिटर क्षमताको अन्डग्राउन्ड पानी ट्याङ्की निर्माण गरिएको छ । ट्याङ्कीमा पानी भर्न मैदानको एउटा कुनोमा डिप बोरिङ गरिएको छ।
सेन्थेटिक ट्र्याक निर्माण गर्न आवश्यक सामाग्री र कालिगढ पनि चीनबाटै ल्याइएको इञ्जिनियर राईले बताए।
सेन्थेटिक ट्र्याकभन्दा बाहिर वरिपरी ३ मिटरको फुटपाथ निर्माण गरिएको छ। वरिपरी तारजाली पनि छ। रंगशालामा अन्डरग्राउन्ड नालाहरुपनि निर्माण गरिएको छ।
बेलझुण्डी रंगशालामा एक वर्षअघि आठौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता र एथलेटिक्सका विभिन्न प्रतियोगिताहरु भएका थिए।
माटोको ट्र्याक र घाँसे मैदानमा अभ्यास गर्दै आएका खेलाडीहरू जिल्लामै सेन्थेटिक ट्र्याकसहितको रंगशाला निर्माण भएपछि उत्साहित भएका छन् ।
यो रंगशालाका कारण जिल्लाको खेलकुद विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। यसले खेलाडीको मनोबल मात्रै बढाएको छैन, प्रर्दशन समेत सुधार हुने अपेक्षा गरिएको छ।