धनी मुलुक तथा युरोपियन फुटबल इतिहासको यात्रालाई समग्र रुपमा हेर्दा एउटै शक्तिशाली युरोपियन क्लबको आर्थिक कारोबार हाम्रो जस्तो मुलुकमा रहेका धेरै वटा उद्योगहरूको आम्दानी भन्दा पनि कयौं गुणा बढी हुन सक्छ।
आधुनिक फुटबलसँग इतिहास जोडिएका ठूला र धनी मुलुकको क्लबलाई नियाल्दा फुटबल यस्तो एउटा उद्योग हो, जहाँ व्यापारिक लाभ-हानीको व्यवसाय सञ्चालन भइरहेको छ। भलै २२ जना बीच मैदानमा एक खेल सम्पन्न हुने भए पनि हजारौं बिधाका व्यापारिक कारोबार फुटबलसँग जोडिएको हुन्छन्।
क्लबहरु फुटबल प्रतियोगितामा सामेल हुने मात्र नभएर वास्तवमा एउटा ठूलो उद्योग चलाइ रहेको प्रतित हुन्छ। यस अर्थमा फुटबल एक व्यापारिक बजार हो भन्दा फरक पर्दैन।
प्रायोजन, विज्ञापन, क्लबको जर्सी, लोगो, सरसामान, टिकट बिक्री, खेलाडी बिक्री लगायतका व्यापारिक खेल कारोबार फुटबल उद्योग वा क्लबले सँगसँगै गरिरहेका हुन्छन्। खेलको नतिजा खेलाडीको सामूहिक प्रयासबाट राम्रो हुने भएकोले ब्यापार फस्टाउने एकमात्र कारक उत्तम खेलाडीको चयन हुन जान्छ। क्लबको बर्चस्व देखाउँन खेलाडीमा राम्रै लगानी गर्नुपर्ने एउटा सत्य हो।
धनी क्लबले राम्रा खेलाडीमा लगानी गरेर भित्र्याउँछन्। यसको कारण केवल खेल जित्नु मात्र नभएर क्लबको ब्यापारिक लाभलाइ पनि जारी राख्नु हो। यसबाट सँगसँगै खेलाडीले पनि ठूलो धनरासी र भत्ता पाइरहेका हुन्छन्।
फुटबल खेल एउटा प्रतिष्ठित उद्योग जस्तो भइसकेपछि त्यसका उद्योगपतिबीच जायज-नाजायज, बैध-अबैध फुटबल खेल भन्दा बाहेकका कैयौँ किसिमका प्रतिस्पर्धा हुनुलाई अस्वभाविक रुपमा लिन परेन। किनभने निमेष भरमै अरबौंको लाभ हानी हुन्छ भने आफ्नो लाभलाई चरमचुलीमा पुर्याउन कुन चहीँ ब्यापारीले चाहँदैन र !
अब जानौ यस्तै लाभ हानीको खिचातानिपूर्ण दुनियाँमा खेलाडी ट्रान्सफरलाई लिएर भएका केही यस्ता रोचक तथ्यहरू :-
१) फुटबलमा पहिलोपटक क्लब स्थानान्तरण १८९३ मा उइली गुभ्सले गरेका थिए। उनी १०० पाउण्डमा वेस्टब्रुमबाट एस्टन भिल्ला गएका थिए। यो १०० पाउण्ड ठिक १२ वर्षपछि रकम १० गुणाले बढेर १००० पाउण्ड पुगेको थियो। जुन अल्फ कोमनले त्यति बेला बनाएको कीर्तिमानी रकम हो। उनी सन्डरल्याण्डबाट मिडलसवर्ग सरेका थिए ।
२) बर्नाबे फरेरा ब्रिटेन बाहिरका पहिलो खेलाडी थिए जो २३ हजार पाउण्डमा अर्जेन्टिनाको टिग्रेबाट रिभरप्लेट पुगेका थिए। यो रेकर्ड अहिले सम्मकै सबैभन्दा लामो रेकर्ड हो जुन सत्र वर्षसम्म टिकेको थियो। यद्यपि आधुनिक फुटबलमा भने जिनदिन जिदानले राखेको आठ वर्षको रेकर्डलाई मान्ने गरिन्छ। उनी ४६.२ मिलियन पाउण्डमा युभेन्टसबाट रियल म्याड्रिड पुगेका थिए।
३) इङ्ग्लिस फुटबलमा पहिलो पटक १ मिलियन पाउण्ड रकम १९७९ मा खर्च गरिएको थियो। जब नटिङहेम फरेस्टले बर्मिङहमका ट्रभर फ्रान्सिस भित्राएको थियो।
४) अहिले सम्मकै सबैभन्दा विवादास्पद स्थानान्तरण नेमार र लुइस फिगोको सरुवालाई लिएर मानिन्छ। नेमार ब्राजिलको सान्तोसबाट बार्सिलोना आउँदाको बेलामा उनलाई तिरेको रकम दुरुपयोग र कर छली गरिएको भन्ने बिषयलाइ लिएर बार्सिलोनालाई मुद्दा लड्नु परेको थियो। लुइस फिगोको स्थानान्तरण सवालमा पनि फुटबल क्लबका पदाधिकारीहरुले नै दवाबपूर्ण रुपमा स्थानान्तरण गराएको भन्ने विवाद उठेको थियो। उनी बार्सिलोनाबाट रियल म्याड्रिड सरेका थिए। उनको त्यसबेला क्याटालोन क्लबले निकै आलोचना गरेको थियो।
५) सन् २००९ मा रियल म्याड्रिडले खेलाडी सरुवामा निकै पैसा खन्याएको थियो। उसले एसी मिलानबाट काकालाई आकर्षक ६७ मिलियन यूरोमा भित्र्याएको थियो। त्यसै वर्ष रियल म्याड्रिडले म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि ८० मिलियन पाउण्डमा भित्राएको थियो। यो रकमले रोनाल्डोलाई त्यसबेलाको सबैभन्दा महंगो खेलाडी बनाएको थियो।
६) गेरेथ बेल पहिलो खेलाडी हुन् जसलाई १०० मिलियन यूरो हालिएको थियो। यो स्थानान्तरण पनि रियल म्याड्रिडबाट नै भएको थियो। यो रकम धेरै टिक्न सकेन, जब म्यान्चेस्टर युनाइटेडले पाउल पोग्वालाई १०५ मिलियन यूरोमा भित्राएको थियो। खेलाडीमा पैसाको लगानी बढिरहँदा २०१७ मा पिएसजीले नेमारलाई २२२ मिलियन यूरो खर्चेर किन्यो र यो रकम अहिलेसम्मकै सबै भन्दा महँगो रकम हुन पुगेको छ। यो रेकर्ड जुनसुकै समयमा तोडिन सक्ने सम्भावना भने रहिनै रहेको छ ।
७) किलीयन अम्बाप्पे सबै भन्दा महँगो किशोर खेलाडी हुन्, उनलाई मोनाकोबाट पिएसजी १८० मिलियन यूरोमा ल्याइएको थियो। दोस्रोमा जाओ फेलिक्स १२६ मिलियन यूरोमा बेन्फिकाबाट एट्लेटिको म्याड्रिड आएका थिए र तेसो मेथ्थिस डिलिट ७५ मिलियन यूरोमा आयाक्सबाट युभेन्टस् आएका थिए।
८) फुटबलमा केही समयको लागि खेलाडी एउटा क्लबवाट अर्को क्लबमा लोनमा पनि लाने नियम रहेको छ र अहिले सम्मकै सबै भन्दा महंगो लोनमा गएका खेलाडी किलीयन अम्बाप्पेनै हुन्। उनलाई ४५.५ मिलियनमा पिएसजीले लोनमा भित्र्याएको थियो।
९) एउटा स्थानान्तरणको बेलामा सबै भन्दा धेरै खेलाडी किन्ने क्लब एभर्टन हो। इङग्लिस प्रिमियर लिगमा खेलिरहेको एभर्टनले २०१७ को समरमा १५ जना खेलाडी भित्राएको थियो।
१०) जुनबेला युभेन्टसले क्रिस्टियानो रोनाल्डो भित्राएको थियो। त्यसबेला देखि उनी सबै भन्दा बढी पैसा कमाउने फुटबल खेलाडी बने। जुन रकम १०६ मिलियन डलर हो। उनका समकालिन खेलाडी लियोनल मेसीको १०५ मिलियन डलर रहेको छ।
११) रियल म्याड्रिडले एउटा स्थानान्तरणको बेलामा, एकै पटकमा ३०५ मिलियन युरो खर्च गरेको थियो, जुन एउटै स्थानान्तरणको बेलामा खर्च गरिएको सबै भन्दा ठूलो रकम हो।
इतिहासमा युरोपियन फुटबल एउटा गौरव, परम्परा, मनोरन्जनको भावनाबाट अगाडी बढेको भएपनि हाल यसमा भइरहेको लगानीलाई हेर्दा फुटबलमा गौरव, परम्परा र मनोरन्जन भन्दापनि उद्योग, ब्यापार, लाभहानी, नाफा, नोक्सान जस्ता कुराले परम्परागत फुटबललाई विस्थापना गर्ने हो कि भन्ने सम्भावना देखिएको छ।
-एजेन्सीहरूको सहयोगमा
सुगत पराजुलीका लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।