तीन नयाँ क्लबहरू, केही नयाँ खेलाडीहरू र केही नियममा परिवर्तनका बीच प्रिमियर लिग सिजन २०२०-२१ जारी छ।
केही क्लबहरूले नयाँ खेलाडीहरू भित्र्याएको अवस्थामा गएका वर्षभन्दा यसपटकको प्रिमियर लिगमा केही फरक र नसोचेको परिणाम आएमा पनि कुनै आश्चर्य मान्न पर्नेछैन।
कोभिड १९ को कारणले खाली मैदान, भिएआरमा परिवर्तन र लाइन्स म्यानको निणर्यमा केही फरक नियम थपिएका छन्। यसपटक प्रिमियर लिगमा क्लबहरू आफ्नो उत्कृष्ट खेल देखाएर दर्शकहरूका मन जित्न चाहन्छन्।
इंग्लिस प्रिमियर लिगको सुरूवाती चार हप्ताको नतिजाहरूलाई हेर्दा एभर्टन र एस्टन भिल्लाले खेलहरू हारेका छैनन्।
तीन खेल खेलेको एस्टन भिल्ला र चार खेल खेलेको एभर्टनले लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन्।
ठूला क्लबहरूले सुरूवाती खेलहरू हारेका छन्। सुरूवाती खेलहरूको नतिजा हेर्दा केही सम्भावनाहरूलाई अनुमान गर्ने आधारहरू भने छन्। तर सुरूवाती खेलहरू भएकोले यो अनुमानलाई नै अन्तिम निचोड हो भन्न चाहिँ सकिँदैन।
यस पटकको लिगमा उल्लेखित ५ मुख्य विषय हेर्नलायक हुनेछन् :-
म्यानचेस्टर सिटी र लिभरपुलको खेल
म्यानचेस्टर सिटी र लिभरपुलको खेल विगतका केही वर्ष झैं निकै आर्कषक हुनेछ। सिटी र लिभरपुलले आ-आफ्नो क्लबको लागि केही नयाँ अनुहार भित्राएका छन्।
यस वर्ष आफूलाई उपाधि दाबेदार मानेको म्यानचेस्टर सिटीले लिभरपुललाई पन्छाउन चाहन्छ। क्लबका प्रशिक्षक पेप ग्वार्डिओला सिटीमा कार्यकालको अन्तिम वर्षमा छन्। २०१६ मा सिटी आएका उनी ५ वर्षे कार्यकाललाई केही खास बनाउन चाहन्छन्।
लिभरपुलले पनि लिगमा सफल सुरूवात गरे पनि उसलाई चौथो खेलमा झड्का लाग्यो। प्रशिक्षक क्लपको क्लबले थियागो एल्कान्टारा तथा डियगो जोता जस्ता नाम चलेका थप नयाँ खेलाडी यस पटक भित्राएका छन्।
यी दुई प्रबल दाबेदार सिटी र लिभरपुलको खेल लिगमा हेर्नलायक हुनेछ।
लिड्स युनाइटेडको यात्रा
यसपटक लिगमा लिड्स युनाइटेड 'अन्डर डग' टिमको रूपमा चिनिएको छ। १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स मार्सलो वाइस्लाको प्रशिक्षणमा छ।
आक्रामक फुटबलको लागि चिनिएको लिड्सले प्रिमियर लिगमा लिभरपुलका उत्कृष्ट डिफेन्डर भान डाइकलाई समेत हायल कायल पारेको थियो। लिभरपुलसगँको खेल नजिते पनि लिड्सले दर्शकको मन भने पक्कै जितेको थियो। लिड्स प्रिमियर लिग यात्रा पनि यसपटक हेर्नलायक टिम हुनेछ।
म्यानचेस्टर युनाइटेड संघर्ष
लिगमा जित निकाल्नको लागि म्यानचेस्टर युनाइटेडलाई निकै संघर्ष गर्न परिरहेको छ। स्टार खेलाडी पाउल पोग्वा, एन्टोनी मार्सियालले कलात्मक खेल देखाउन नसक्दा टिमलाइ गोल गर्न कठिनाइ परिरहेको छ।
डर्टमुन्डका युवा खेलाडी जेडन सान्चोलाइ क्लबमा भित्र्याउन पछि परिरहेको युनाइटेडले अहिलेसम्म पनि उनलाई क्लबमा भित्राउन सकेको छैन। खेलाडीहरूले आफ्नो फर्म नसुधारेसम्म विगतका वर्ष भन्दा उसलाइ यो वर्ष लिग टेवलको शीर्ष स्थानहरूमा रहन निकै मुस्किल पर्ने अवस्था देखिन्छ।
चेल्सीको मोटो रकम खर्च
सात जना खेलाडी भित्राएको चेल्सी लिगमा भारी संघर्ष खेपिरहेको छ। झन्डै २२० मिलियन युरो खर्च गरी यस पटक चेल्सीले ट्रान्सफर विन्डोमा थप नयाँ खेलाडी भित्र्याएको छ।
चमत्कारीक खेलाडी भित्राउन सफल भएको चेल्सीले शुरूवाती खेलहरूमा भने खसै चमत्कार गर्न सकिरहेको छैन। फ्रान्क लामपार्डको प्रशिक्षणमा रहँदै आएको चेल्सीको रक्षापंत्ति अझै पनि कमजोर नै हो कि भन्ने जस्तो देखिएको छ। उपाधि दाबेदार मध्येको एक मानिएको चेल्सीले खेलमा सुधार नल्याए लिग टेवलमा अझै संघर्ष गर्नुपर्ने अवस्थामा पुग्न सक्छ।
कार्लो एन्सेलोटीको एभर्टन
जेम्स रोड्रिगेज, एलन र डिकोर्रे जस्ता जबरजस्त उत्कृष्ट मिडफिल्डरको मिलेको तालमेलले गर्दा यसपटक एभर्टनलाई रोक्न अन्य क्लबलाइ मुस्किल परिरहेको छ। सन् २०१४ विश्वकपको गोल्डेन बुट विजेता जेम्स रोड्रिगेज रियल म्याड्रिड र वायर्न म्युनिखमा बिताएका दिनहरू बिर्सेर प्रिमियर लिगमा प्रभाव जमाइरहेका छन्।
युवा स्ट्राइकर डोमिक क्याभर्ट लुइन र रिचार्डलिसनको साझेदारी पनि अकल्पनिक हुन पुगेको छ। क्याभर्ट लुइसले हाल प्रिमियर लिगमा अहिलेसम्मकै उत्कृष्ट फर्म देखाई रहेका छन्। यस वर्ष एभर्टनबाट निकै ठूलो आशा गरिएको छ।
हाल लिगको सुरूवाती दिनहरूमात्र भएको हुँदा खेल्दै जाँदा कुन क्लबले कतिबेला कस्तो रणनितिक परिवर्तन गर्ने हुन् त्यसमा पनि लिगको नतिजा तलमाथि हुनसक्छ।
साथै आफ्ना खेलहरूलाई मध्यनजर राख्दै क्लबहरूले जनवरी ट्रान्सफर विन्डोमा पनि खेलाडीहरू भित्र्याउने परम्परा रहेको हुँदा अहिले नै सीमित खेलको आधारमा सबै सम्भावनाहरूलाई आँकलन गरिनसक्ने अवस्था चाहिँ छैन।
सुगत पराजुलीका लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।