बेलायती फुटबलर मार्कस रासफोर्ड अहिले मैदानभित्र मात्र हिरो नभएर मैदानबाहिर पनि हिरो बनिरहेका छन्।
उनले दुई साताअघि युरोपियन्स च्याम्पियन्स लिगअन्तर्ग पिएसजी विरुद्धको खेलमा निर्णयक गोल गरेका थिए। लाइपजिगविरुद्धको खेलमा त सब्स्टिच्युट खेलाडीको रुपमा ६३ मिनेटमा मैदान छिरेर १६ मिनेटभित्रमा ह्याट्रिक पूरा गरे। मंगलबार पनि उनले इस्तानवुलविरुद्ध पनि पेनाल्टीमा गोल गर्न सफल भए।
यो मात्र उनले गरेको प्रशंसनिय कुरा होइन। उनले ८ महिनाअघि कोरोना संक्रमणले आक्रान्त भएका बेलायती बालबालिकाहरूको लागि निःशुल्क खाना खुवाउने अभियान पनि सुरू गरे।
लकडाउनका कारण स्कुल बन्द हुँदा त्यतिबेला बेलायत सरकारले बालबालिकाका लागि नि:शुल्क खाना बन्द गरेको थियो। त्यसैले उनले स्कुल बन्दा हुँदा पनि खाना खुवाउनु पर्छ भन्दै अभियान थालेका थिए। हालै यो अभियान चरमचुलीमा पुगेको छ।
बेलायतका गरिब परिवारका बच्चालाई खाना खाजा खुवाउने अभियान चालेका कारण बेलायती रानीको हातबाट उनी विशेष पुरस्कारबाट पुरस्कृत भए।
हालैमात्र उनले तयार गरेको याचिकामा एक लाख तीस हजार वटा हस्ताक्षर गरिएको थियो। त्यस याचिकामा लेखिएको छ– स्कुल बन्द रहँदा पनि हरेक गरिबका बच्चाले खाना खाजा खान पाउनु पर्नेछ।
उनको अभियानको बारेमा बेलायती सरकार पनि सोच्न बाध्य बनायो। सरकारले गर्न नसकेको काम कुनै पनि व्यक्तिले गरेर ख्याती र चर्चाको चुलीमा रहेको कुरा कतिपय राजनीतिज्ञ र खेलकुद लगायतका अन्य क्षेत्रका मानिसहरुलाई मन परिरहेको छैन भन्ने कुरा तीनका अभिव्यक्ति र इशाराले संकेत गरिरहेको छ।
रासफोर्डको अभियानको नाम #इन्ड चाइल्ड फुटबल पोर्भटी क्यामपेन हो।
रासफोर्ड म्यानचेस्टरमा जन्मिएर म्यानचेस्टरकै एकेडेमीमा भर्ना भएका थिए। १८ वर्षको उमेरमै म्यानचेस्टर युनाइटेडको लागि डेब्यू गर्न उनलाई ठूलो अवसर मिलेको थियो। कलिलै उमेरमा तत्कालीन प्रशिक्षक लुइस भान गालको निर्णयलाइ उनले गलत साबित हुन दिएनन्। यो निर्णय म्यानचेस्टर युनाइटेडका लागि निकै फलदायी सावित भएको छ।
मुख्य स्ट्राइकर एन्टोनी मार्सियाल घाइते हुदा उनले मौका पाएका थिए।
म्यानचेस्टर युनाइटेडका उनी सानैदेखिका प्रशंसक थिए। उनी पनि गरिब परिवारबाट हुर्केका युवक हुन्।
सानो हुँदादेखि नै वितरण गरिएको खाना–खाजा खाएर उनी हुर्किएका थिए।
युनाइटेडको अहिलेको सुरुवाती ११ खेलाडी भित्र अटाउनु भनेको चानचुने कुरा भने होइन।
एकल महिलाको छोरा उनी आफ्नी आमालाई प्रेरणाको स्रोत मान्दछन्।
अहिले उनको पछाडि पुरै इङ्लिस फुटबल लागेको छ। प्रतिस्पर्धाको समयमा कट्टर प्रतिद्वन्द्वी लिड्स युनाइटेडले समेत उनको अभियानलाई हजारौं पाउन्ड सहयोग गरेको छ। लिभरपुल जो म्यानचेस्टर युनाइटेडको नजिकको कट्टर प्रतिद्वन्द्वी हो त्यस क्लबका प्रशिक्षक यर्गन क्लपले समेत हामी मानवताको मामिलामा एकजुट हौं भनेका छन्।
के क्रिकेट, के फुटबल, के रग्बी अनि पब, रेस्टुरेन्ट, होटेलको सहयोग पाएको रासफोर्डको अभियान सबैतिरको हेडलाइन बन्न पुगेको छ।
उनले आफ्नै कमाइ च्यारिटीमा लगाएर आममानिसको ध्यान एकै चोटी खिच्न सफल भए। उनको खेलमा समेत निकै प्रभाव भएकाले यो अभियान समेत चर्चित हुदै अचानक चुलिन पुगेको हो।
मामुली एउटा फुटबल खेलाडीको मानवीय कार्यमा सहयोगी हातहरुको उर्लदो भेललाई देखेर बेलायत जस्तो भब्य इतिहास बोकेको धनी तथा प्रजातन्त्रिक मुलुकको सरकार वा शासकलाई इर्ष्या नलागोस् पनि किन?
उनको विशाल छातीलाई सलाम।
यसरी नै अगाडि बढ्दै गएको खण्डमा उनको नाम बेलायती फुटबलमा मात्र नभएर देशव्यापी रुपमा चर्चित हुनसक्छ।